सडक नबनेपछि सडकमै रोपाइँ गरिदिए स्थानीयले 

<span class='c1'>सडक नबनेपछि सडकमै</span> <span class='c2'>रोपाइँ गरिदिए स्थानीयले </span>

प्रयास लिम्बू
ताप्लेजुङ,। ताप्लेजुङ सदरमुकामभित्रको हिलाम्य भएको पक्की सडक पुनःनिर्माणको माग गर्दै सदरमुकाम फुङ्लिङबासीले सडकमै रोपाइँ गरेका छन् । सवारी आवागमनमै समस्या आउनेगरी पक्की सडक भत्किएको लामो समय बित्दासमेत सरोकारवाला निकायले ध्यान नदिएको भन्दै फुङ्लिङबजारको जिमीपोखरी क्षेत्रका बासिन्दाले हिलाम्ये सडकमै रोपाइँ गरेका हुन् ।

जिमी पोखरी टोलका बासिन्दाले एम्बुलेन्स लगायत अत्यावश्यकीय बाहेकका सवारी साधन आवागमन नै ठप्प पारेर पक्की सडक पहिलेकै जस्तो बनाउनुपर्ने माग र सडक पुनःनिर्माणका लागि अहिलेसम्म सम्बन्धित निकायले चासो नदिएकोमा विरोध स्वरुप सडकमै रोपाईँ गरेका हुन् । स्थानीयबासीले सडक पुनःनिर्माणको कार्य नथालेसम्म यस क्षेत्रमा सवारी साधनलाई गुड्न नदिने समेत घोषणा गरेका छन् ।

यता कोप्चे, जिमीपोखरी, हिकोला चौकको हिलाम्ये सडकमा यातायात बन्दगरी वैकल्पिक मार्गको प्रयोग गर्न स्थानीयबासीले जिल्ला प्रशासन कार्यालयसँग बुधबार मात्रै गरेको आग्रह गरेका थिए । स्थानीयबासीको उक्त आग्रह पछि प्रशासन कार्यालयले हिलाम्य क्षेत्रमा तत्कालका चार पाङ्ग्रे सवारी साधन गुड्न निषेध गरेको थियो । सडक हिलाम्य भएको क्षेत्रका बासिन्दा र प्रशासन कार्यालयबीच भएको समझदारी अनुसार प्रहरीले शान्तिटोलको दोबाटोदेखि हुलाक कार्यालय झर्ने बाटो सम्मको बिचको सडक क्षेत्रमा अत्यावश्यकीय बाहेकका चारपाङ्ग्रे सवारी साधनको प्रवेशमा रोक लगाएको छ ।

ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले सवारी साधन गुुड्न समेत अफ्ठ्यारो पर्ने देखेपछि तत्कालका लागि हिलाम्य क्षेत्रमा चारपाङ्ग्रे सवारी साधनको प्रवेश रोक लगाइएको जानकारी दिनुभयो । निमित्त प्रजिअ भट्टराईका अनुसार अहिले फुङ्लिङबजारको तोक्मेडाँडा देखि हटिया लाग्ने क्षेत्र हुँदै होटल न्यू जेनियल अगाडिबाट बुुद्धचौक देखि वीरेन्द्रचौक सम्म पुग्ने सडक मार्गलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न थालिएको छ । शान्तिटोलको दोबाटोदेखि पराजुली चौकसम्म माथिल्लो भागमा मर्मतको कार्य भइरहेको र र तल्लो भाग जिमीपोखरी हिकोला टोल हिलाम्य भएर सडकको अवस्था नाजुक भएका कारण यातायात सञ्चालनमा रोक लगाएपछि क्षणिक समयका लागि उक्त वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने भएको भट्टराईको भनाइ छ ।

यता प्रहरीले बाहेक यातायात बन्द गरिएको क्षेत्रका स्थानीयले समेत हिलाम्य सडकमा यातायातका साधन नचलाउने चालकलाई आग्रह गर्दै आएका छन् । जिमीपोखरी टोल सुधार समितिका सदस्य राजा मादेनले पक्की सडक हाल सडकको रुपमा नरहेको र हिलोको सास्ती सहिसक्नु नभएको भन्दै यस्तो अवस्थामा यातायात सञ्चालन गर्नु कठिनाइ हुने बताए । मादेनले सडक पुनःनिर्माणका लागि प्रयास नथाले सम्म यो क्षेत्रमा रोकिराखिएका यातायातका साधनसमेत पुनः सञ्चालन नहुने बताए ।

नेपाल टेलिकमले तार विछ्याउने क्रममा फुङ्लिङ बजारभित्रको वारपार पक्की गरिएको सडक बिगारेर छाडेको भन्दै बजारबासीले पहिले देखि नै आक्रोस पोख्दै आएका थिए । उक्त टेलिकमले बिगारेको सडक अन्तर्गत बजारको शान्तिटोल देखि हुलाक झर्ने बाटोसम्म सबैभन्दा बढी बिग्रिएको र हिजोआज खपिनसक्नुको हिलाम्य भएपनि पुनःनिर्माणका लागि नगरपालिका कार्यालय स्वयंले पनि खासै चासो नदिएको भन्दै स्थानीयबासीले सडकमै रोपाइँ गरी विरोध जनाएका हुन् । दुई वर्षअघि टेलिकमले अप्टिकल फाइबर बिछ्याउन भन्दै पक्की सडकको भत्काएको भाग तत्काल मर्मत नगर्दा हाल सडकको यस्तो दुरावस्था भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्