प्रेम देवान
विराटनगर २८ असार ।
पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा नवनिर्मित प्रशिक्षार्थी मेष, भान्साघर, कम्प्युटर ल्याब तथा फाइरिङ सेमुलेटर रुमको आज एक कार्यक्रम विच उदघाटन् गरिएको छ ।
क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले आज समुद्घाटन गर्नुभएको हो । केन्द्रले आफ्नै आन्तरिक श्रोत(साधन तथा श्रमदानबाट कुल ४१ लाख निर्माण लागत खर्चमा सुविधा सम्पन्न मेष, भान्साघर, कम्प्युटर ल्याब तथा फाइरिङ सेमुलेटर रुमको निर्माण गरेको हो।
समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्र.ना.म.नि. घिमिरेले आन्तरिक श्रोत साधनबाट सुविधायुक्त भौतिक संरचनाहरु निर्माण गर्नु आफैमा प्रशंसिय कार्य भएको हुँदा तालिम केन्द्र परिवारलाई बधाई दिनुभयो।
सोही अवसरमा वहाँले जनमुखी प्रहरी सेवा प्रदान गर्न आन्तरिक तथा बाह्रय प्रशिक्षण कार्यक्रमलाई समसामयिक रुपमा परिमार्जित गर्दै वैज्ञानिक प्रशिक्षण पद्धति अपनाई हालको चुनौतीपूर्ण परिवेशलाई सामना गर्न सक्ने सबल, सक्षम, दक्ष र व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्नु आजको आवश्यक्ता रहेको वर्तमान अवस्थामा सुविधा सम्पन्न यी संरचनाहरु दक्ष जनशक्ति उत्पादन कार्यमा सहायक सिद्ध हुने बताउनुभयो।
कार्यक्रममा केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले प्रहरी जनशक्ति उत्पादन गर्ने थलोको रुपमा रहेको सबै भन्दा पुरानो तालिम केन्द्रमा भौतिक संरचनाहरुको अभाव खडकिएपछि आन्तरिक श्रोतबाटै भएपनि उक्त संरचनाहरुको निर्माण कार्य शुरु गरिएको बताउनु भयो। वहाँले नवनिर्मित संरचनाहरुको सहयोगले आगामी दिनमा प्रशिक्षण कार्यमा अझ उत्कृष्टता आउने विश्वास समेत दिलाउनु गर्नुभयो।
कार्यक्रममा निर्माण सामाग्री उपलब्ध गराई सहयोग गर्नु हुने राउत कन्सट्रक्सन प्रा.लि.का प्रोप्राइटर राजेन्द्र राउत र आरती स्ट्रिप्स प्रा.लि.का सह(प्रबन्धक दिवश लोहनीलाई सम्मान पत्रले सम्मान गर्नुका साथै निर्माण कार्यमा खटिने दश प्रहरी कर्मचारीहरुलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरिएको थियो।
तस्वीर ः प्र्रेम देवान