विराटनगर साउन ६ , स्थानीय तह पुनःसंरचना आयोगका अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी इकाई मोरङ जिल्लामा निर्माण हुन लागेको छ । मोरङमा संघीय संरचनामा जाँदा १३ वटा समूह गाउँपालिका वा नगरपालिका हुने भएको आयोगले जनाएको छ । स्थानीय तह पुनःसंरचना आयोगले देशभर ५६५ वटा इकाई तय गरेको छ । स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलका अनुसार साउनभित्र १३ वटा युनिट तय गरी केन्द्रमा सिफारिस गर्न स्थानीय समितिलाई निर्देशन दिइएको छ ।
आयोगका अनुसार स्थानीय समितिले सरोकारवालाहरुसँग छलफल गरेर मोरङमा बढीमा १३ वटासम्म संख्या तोक्न सक्छ । यसका लागि आयोगले मापदण्ड तय गरिसकेको छ । आयोगका अनुसार १ नम्बर प्रदेश अन्तर्गत सुनसरीमा ११, झापामा १०, भोजपुरमा ८, धनकुटामा ५, ताप्लेजुङमा ८, खोटाङमा ९, इलाममा ८, ओखलढुंगामा ७, पाँचथरमा ५, उदयपुरमा ७, संखुवासभामा ७, तेह्रथुममा ५ वटासम्म इकाईहरु हुनेछन् । यस्ता इकाइमा गाउँपालिका वा नगरपालिकाहरु पर्नेछन् ।