काठमाडौँ-सरकारले अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा संवाद गर्न तीन जना सचिव सहभागी वार्ता टोली गठन गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको तीन सदस्यीय संवाद टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।
विभिन्न आयोगका सिफारिसलाई ध्यानमा राखेर यसअघि सरकार र डा केसीबीच भएका सहमति कार्यान्वयन सुरु गरिसकिएको उनको भनाइ थियो । मन्त्रिपरिषद् बैठकले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश, २०६९ खारेज गर्ने निर्णयसमेत गरेको छ । सोबमोजिम विभिन्न कम्पनीका नाममा जारी भएका इजाजतपत्र खारेज गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै सरकारले स्थानीय शान्ति समितिको म्याद यही साउन १ गतेदेखि लागू हुनेगरी एक वर्षका लागि थप गरेको छ । रासस