बिराटनगर साउन ९, बिराटनगरको कुनै पनि ठाउँ जानू पर्यो भने तपाईंले सास्ती खेप्नु पर्ने निस्चित छ । सास्तीको मुख्य कारण यहाँका सडकको अवस्थाले हो । ढल तथा नाला निर्माणको काम समयमा व्यवस्थित रुपमा नगरिदा यस्तो अवस्था आएको जनगुनासो छ । बिराटनगरका सुजित झा भन्छन् " बिराटनगर उपमहानगरपालिकालाई हामीले बारम्बार आग्रह गरेका हौ , वर्षा लागेपछि सडक हिड्न नसकिने हुन्छ समाधान अहिले खोजी गर्न" । बिराटनगर उपमहानगरपालिका क्षेत्रमा एडिबीको प्रोजेक्ट बाहेकका ठाउँमा पनि वर्षौ देखि सडक मर्मत नहुदा अहिले निकै समस्या भोग्नुपरेको गुनासो गर्छन् बिराटनगर-१६ का सुनिल यादव । "बिराटनगर उपमहानगरपालिकाले समयमै समाधानका उपायबारे सोचेको भए र व्यवस्थित रुपमा काम अगाडि बढाएको भए यस्तो अवस्था आउने थिएन" युवा प्रसान्त पाण्डे आक्रोशित रुपमा भनाइ राख्छन् । अहिले वर्षाले गर्दा एडीबीको प्रोजेक्टको काम एक महिनादेखि बन्द अवस्थामा रहेको छ । सडकको खराब अवस्थाको कारण सर्वसाधारणको दैनिकी नै प्रभावित भएको छ । दैनिक बिराटनगर क्षेत्रमा सडकमा गाडी फसेको , दुर्घटनामा परेको तथा सर्वसाधारण जनता मोटरसाइकलबाट लडेर घाइते भएको हामीले सुन्ने गरेका छौ । बिराटनगर शनि मन्दिर देखि भृकुटी चोक सम्मको सडकमा खाल्डोमा पानी जमेर पोखरीको रुप लिएको छ । तिनटोलिया , मधुमारा , भृकुटी चोक , रोडषेश , मिल्स एरिया लगायत बिराटनगरका ठाउँमा सडकको अवस्थाले सर्वसाधारणले सास्ती खेपिरहेका छन ।