बाढीका कारण मोरङमा तीन सय परिवार विस्थापित

बाढीका कारण मोरङमा तीन सय परिवार विस्थापित

विराटनगर। एक सातादेखि भइरहेको निरन्तर वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ३०० परिवार विस्थापित भएका छन् ।
एक साताको वर्षाको क्रममा गएरातिदेखि आज सम्मको अवधिमा तुलनात्मक रूपमा सबैभन्दा बढी वर्षा भएपछि मोरङमा व्यापक रूपमा क्षति भएको छ । चौपाया र मानवीय क्षति नभए पनि हजारौँ हेक्टरमा रोपिएको धानबाली डुबानमा परेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार, विराटनगर–१६ स्थित बखरी टोलामा पानी पस्दा ५० परिवार विस्थापित भएका छन् भने पानीको चाप बढ्दै गएपछि विस्थापितका सङ्ख्यामा निरन्तर रूपमा वृद्धि भइरहेको छ ।

यसैबीच, रेडक्रस मोरङले बखरीका विस्थापित २६ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । सो ठाउँबाट गएराति थप परिवार पनि विस्थापित भएको र उनीहरू नजिकको विद्यालय र सडकमा आश्रय लिएका छन् । कटहरीमा पनि दर्जनौँ घर डुबानमा परेका छन् ।

यसका साथै बक्राहा खोलाको पानी पस्दा गोविन्दपुर–८का ५० परिवार विस्थापित भएका छन् । उनीहरूलाई प्रहरीको टोलीले उद्धार गरी सामुदायिक भवनमा राखिएको छ । सिजुवामा २३ परिवार विस्थापित भएको र उनीहरूलाई रेडक्रसबाट त्रिपाल र खाद्यान्न उपलब्ध गराइएको रेडक्रसका अधिकृत कमल कोइरालाले जानकारी दिनुभयो । यसका साथै बबियाबिर्तामा ३५ परिवार, हसन्दहको जयनगर र सुगाबजारका २०० परिवार विस्थापित भएका छन् ।

नुनसरी खोलाको पानी मधुमल्ला ४ र ६ वडामा पस्दा ५० परिवार विस्थापित भएका छन् । टापूका रूपमा परिणत भएका ती वडामा उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सोराभाग–९का २५ परिवार विस्थापित भएको र तीमध्येका १२ परिवारको घर पूर्णरूपले क्षति भएको छ ।  विराटनगर–डाइनिया सडकखण्डको थाननजिक कल्भर्टको छेउमा कटान हुँदा सो मार्ग बिहानदेखि अवरुद्ध भएको छ । ती ठाउँमा प्रहरीको टोली पुगेर मर्मत सम्भारको काम सुरु गरेको बताइएको छ ।

समग्रमा गएरातिको वर्षाका कारण मोरङ भएर बग्ने नदीको जलस्तरमा व्यापक रूपमा वृद्धि भएपछि कतिपय ठाउँमा बाँध भत्काएर मानवबस्तीमा पानी पसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्