बिभिन्न खोलाले बगाएर २ को मृत्यु, २ बेपत्ता

<span class='c1'>बिभिन्न खोलाले बगाएर २</span> <span class='c2'>को मृत्यु, २ बेपत्ता</span>

विराटनगर, साउन १०

पूर्व क्षेत्र अन्तरगतका विभिन्न जिल्लामा खोलाले सोमबार दुई जनाको मृत्यु, दुई जना बेपत्ता तथा बिभिन्न स्थानहरुमा डुबान भएको सुचना प्राप्त भएको छ।

उदयपुर: रामपुर-२ स्थित गुहे खोलाले बगाएर रामपुर-२ खोरियाटोलकी कालीमाया राईको मृत्यु भएको छ। घरबाट रामपुर बजार हिडेकी राईलाई खोला तर्नेक्रममा सो खोलाले बगाएको थियो। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट टोली खटिगई स्थानीय गाउँलेको सहयोगमा उनको खोजी गर्दा राईको शव भेटिएको हो। त्यसैगरी तपेश्वरी-१ बस्ने मानबहादुर प्रधानको १३ वर्षका छोरा ऋतु प्रधानको सोमबार अपरान्ह घरनजिकै पानीको खोल्सामा डुबेर मृत्यु भएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटि गएका प्रहरीले कानूनी प्रकृया पुरा गरेको छ।

सप्तरी: कोबर्साईन-४ स्थित स्थानीय खोलाले बगाउँदा मारेङ बिराटनगर निवासी २३ बर्षिय सुदिप कुमार यादव वेपत्ता भएका छन्। सप्तरीस्थित फरवार्ड बैङकमा कार्यरत यादवलाई किस्ता रकम संकलन गर्न जानेक्रममा आज विहान खोलाले बगाएको हो। यादवको जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीबाट खोजीकार्य भइरहेको छ।

झापा: झापाको घाँगरा खोलामा आएको बाढीले बिर्तामोड-३ स्थित सोमनाथ घिमिरेको टिनले बनेको घर बगाएको छ भने मदन भण्डारी र जित बहादुरको घर जोखिममा परेको छ। खोलामा आएको बाढीले उक्त स्थानमा रहेको ९ कट्ठा धानवाली समेत कटान गरेको छ। त्यस्तै झापाकै विरिङ खोलामा आएको बाढीले शनि-अर्जुन-२ र सोही नगरपालिका ४ स्थित उमाकान्त शिवाकोटी, खेम बहादुर थापा, मानबहादुर तामाङको १९ विगाहा ७ कठ्ठा जति धान खेत कटान गरेको छ। सोही खोलाले तेह्रथुम चुहानडाँडा स्कुलको नाममा रहेको ८ विगाहा जग्गासमेत कटान गरेको छ।

सुनसरी: सुनसरी बराहक्षेत्रबाट जल लिएर पिण्डेश्वरी बाबाधाम जादै गरेका सुनसरी ईटहरी-१ की १७ वर्षिया सुनिता कार्कीलाई बराहक्षेत्र-१ चतराघाटस्थित दुधखहरे खोला तर्नेक्रममा बाढीले बगाई बेपत्ता भएकी छिन्। सोही खोलाले कार्कीसंगै बगाएका भोजपुर मानेभज्याङ-५ बस्ने ज्ञानेन्द्र पराजुलीलाई स्थानीय मानिसले उद्दार गरेका छन्। त्यसैगरी सुनसरीको छिटाहा ६ स्थित २५ घरमा वर्षाको पानी पसेर डुबान भएको छ भने घुस्कीहाट-४ स्थित ९ घरमा स्थानीय मोरिया खोलाले पानी पसेर डुबान भएको छ। उक्त स्थानमा स्थानीय प्रहरी टोली खटिगई ती घरका मानिसहरुलाई अत्यावश्यक सामानसहित सुरक्षित स्थानमा सारिएको छ।

मोरङ: मोरङको नुनसरी बक्राहा खोलामा आएको बाढीले मधुमल्ला-५ खाँबेझोडास्थित आधा दर्जन घरका मानिस विस्थापित भएका छन्। उक्त स्थानमा अस्थाई प्रहरी चौकी टाँडीबाट प्रहरी टोली उद्दारकालागि खटिएका छन्।

संखुवासभा: खाँदबारी नगरपालिका २ तुम्लिङटार-चेवाबेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। लगातारको वर्षासंगै बेतिनी भंगालो भन्ने स्थानमा सडक माथीबाट आज विहान पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउन प्रहरी चौकी चेवाबेसीबाट टोली खटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्