काठमान्डौ साउन २४ , प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत बजेट र नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उहाँले कुन–कुन विकास निर्माणका आयोजना कति समयभित्र सम्पन्न गर्न सकिन्छ समयावधि तोकेर मुख्यसचिव मार्फत कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिनुभएको बैठकमा सहभागी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
संविधान कार्यान्वयनमा देखापरेका असन्तुष्टि हटाई सर्वस्वीकार्य काम गर्न, शान्ति प्रक्रियालाई टुङ्गोमा र्पुयाउन, भूकम्पप्रभावित जिल्लामा पुनर्निर्माण र नवनिर्माण प्रक्रियालाई गति दिन कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । उहाँले सार्वजनिक प्रशासनलाई चुस्त तथा दुरुस्त बनाउन र आर्थिक संमृद्धिका लागि कसरी अघि बढ्न सकिन्छ भनि कार्ययोजना प्रस्तुत गर्न पनि निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयका सचिव सान्तबहादुर श्रेष्ठले उल्लेख गर्नुभयो ।