कञ्चनपुर नाकाबाट तीन सय चेलीको उद्धार

कञ्चनपुर नाकाबाट तीन सय चेलीको उद्धार

भीमदत्तनगर, प्रहरीले पश्चिमी सीमानाका कञ्चनपुरबाट बितेको एक वर्षमा तीन सयभन्दा बढी चेलीको उद्धार गरेको छ ।

पछिल्ला वर्षमा पश्चिमी नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गइरहेको छ । प्रहरी र माइती नेपालको प्रयासमा भारतलगायत तेस्रो मुलुक दलालमा प्रलोभनमा परी जान लागेका महिला तथा बालबालिकालाई सीमाक्षेत्रबाट उद्धार गरिएको हो ।

गत वर्ष वैशाखमा गएको भूकम्पपछि कञ्चनपुरका नाका चेलीबेटी बेचबिखन तथा भारतलगायत तेस्रो मुलुक पैठारीका लागि दलालले प्रयोग गरिरहेको माइती नेपाल कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला एकाइका प्रहरी कर्मचारी सपना ऐरीले दिएको जानकारीअनुसार आव २०७२/७३ मा यो नाकाबाट ३०० महिला तथा युवतीको सीमानाकाबाट उद्धार गरिएको हो ।

गत आवमा मानव बेचबिखनका १५ वटा मुद्दा दर्ता भएका थिए । “आव २०७१/७२ मा सातवटा मुद्दा दर्ता भएका थिए,” उहाँले भन्नुभयो – “यो वर्ष विगतको भन्दा मानवबेचबिखन धेरै बढ्यो ।” भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, नुवाकोट, रसुवाका साथै झापा, मकवानपुर र सोलुखुम्बु जिल्लाका महिला बढी सङ्ख्यामा यहाँबाट उद्धार गरिएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

“पहिले भारतका विभिन्न स्थानमा रोजगारीका लागि भन्दै विभिन्न प्रलोभनमा परेर महिलाहरु बेचिने गरेका थिए,” प्रहरी जवान ऐरीले भन्नुभयो – “तर पछिल्लो समय भारतको नयाँ दिल्लीबाट तेस्रो मुलुक पठाउन सहज हुने भन्दै दलाल महिला बेचबिखनमा सक्रिय छन् ।” प्रहरीले मानव बेचबिखनको जालो काठमाडौँदेखि दिल्लीसम्म सक्रिय रहेको जनाएको छ । “काठमाडौँ देखि दिल्ली रुटका बस दलाललाई मानव बेचबिखनका लागि सहज भएका छन्,” प्रहरी स्रोतले भन्यो – “सीमानाका र बसमाथि कडा निगरानी राख्ने सके केही हदसम्म बेचबिखन नियन्त्रण हुनसक्छ ।” रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्