विद्यालयमा हुने लैङ्गिक हिंसा कम गर्न हरेक विद्यालयमा गुनासो सुनुवाई समिति गठन हुने भएको छ । समिति गठन गर्नका लागि कार्यबिधि तयार भइसकेको बताइएको छ ।
विद्यालय तहमा हुने लैङ्गिक हिंसा, यौन दुव्र्यवहार जस्ता घटना कम गर्न सबै विद्यालयमा गुनासो सुनुवाई समिति गठन गर्न लागिएको शिक्षा विभागले जनाएको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा अध्यक्षले तोकेको एक जना महिला सदस्य समितिको अध्यक्ष हुने र विद्यालयको प्रधानाध्यापक, बाल क्लबका एक छात्रा, एक छात्र र एक सदस्य सचिव गरी पाँच सदस्यीय समिति गठन हुनेछ ।
गुनासो पेटिमा आएका उजुरी पुष्टि भए सम्बन्धित व्यक्तिलाई कारबाही गरिने विभागले जनाएको छ । सदस्य सचिवलाई गुनासो सुन्ने अधिकारीको जिम्मा दिइनेछ । समितिले विद्यालयमा सबैले देख्ने ठाउँमा सुझाव पेटिका अनिवार्य राख्नुपर्नेछ । विद्यार्थीले मात्र नभई शिक्षक शिक्षिकाले पनि गुनासापेटिमा आफूलाई परेको समस्याबारे लेख्न सक्नेछन् ।