पूर्वाञ्चलमा ३० करोडमा कृषि थोक बजार निर्माणको तयारी

पूर्वाञ्चलमा ३० करोडमा कृषि थोक बजार निर्माणको तयारी

बिनु तिम्सिना
विराटनगर ,

कृषि मन्त्रालय अन्तर्गत संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) नेपालले ३० करोडको लागतमा व्यवस्थित कृषि बजार निर्माण गर्ने तयारी गरेको छ ।
पूर्वाञ्चललाई नै लक्षित निर्माण गरिने उक्त कृषि बजार कटहरी–२ स्थित जमटोकीमा रहनेछ । यसअघि पनि सोही स्थानमा कृषि थोक बजार निर्माण गर्ने भनि कृषि बजार विकास निर्देशनालयले जिल्ला कृषि विकास कार्यालय मोरङद्वारा निर्माण कार्य सुरु गरिएको थियो । तर, २५ लाख खर्च भएपनि स्थानीय केही व्यक्तिको अवरोधका कारण घेराबारा बाहेक अन्य संरचना निर्माणको काम बिचैमा रोकिएको थियो । अहिले सो क्षेत्र गौचरणमा सिमीत छ । कटहरीको जनप्रिय माविको नाममा रहेको ४ विघाहा र गाविसको नाममा रहेको १ विगाहा जग्गामा बन्ने उक्त कृषि बजार निर्माणका लागि टेण्डर आव्हान गर्ने तयारी भइरहेको प्याक्ट नेपाल विराटनगरका अनुगमन तथा मूल्यांकन अधिकृत बसन्तराज अज्र्यालले बताउनु भयो ।
उक्त बजारमा किसानका लागि छुट्टै बजारको व्यवस्था गरिनेछ भने सोही क्षेत्रमा बैंक, कृषि उत्पादनको स्टोर, पानी तथा शौचालयलगायतका भौतिक संरचना निर्माण हुनेछन् । सन् २०१८ सम्ममा निर्माणसम्पन्न हुने योजनाका साथ प्रक्रिया अघि बढाइने अर्यालको भनाइ छ ।
कृषि थोक बजार व्यवस्थापन समितिका सदस्य तथा स्थानीय महम्द ऐजुनले यस क्षेत्रमा कृषि बजार निर्माण भए आफूहरुले रोजगार पाउने अवस्था सिर्जना हुने आशा व्यक्त गर्नुभयो । ‘केही समयअघि निर्माण गर्न थालेका थियौं, तर अवरोध भयो,’ उहाँले भन्नुभयो, ‘अब बन्ने कुनै छाँट देख्दिन ।’ स्थानीय सुकुमबासी गोपाल विकले भने कृषि बजार निर्माण भएपछि आफूहरुलाई समस्या हुनसक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले आफूहरुलाई समस्या नपर्ने गरी र रोजगारी सिर्जना हुनेगरी थोक कृषि बजार निर्माण गर्नुपर्ने बताउनु भयो ।
देशकै दोस्रो ठूलो सहर विराटगरमा अझै पनि व्यवस्थित रुपमा थोक कृषि बजारको व्यवस्थापन हुन सकेको छैन । व्यवस्थित कृषि बजार नहुँदा यहाँका किसानले उत्पादन गरेको वस्तुको बिक्रीमा समस्या छ भने बजारको सहज पहुँच नहुँदा उपभोक्ताले आवश्यक कृषि वस्तुको उपभोग गर्नबाट वञ्चित छन् ।
पुनः विरोध हुनसक्ने आशंका
यसअघि स्थानीय अधिकारको नाममा फोरम लोकतान्त्रिकका जिल्ला नेता भक्ति माझीलगायतले कृषि थोक बजार निर्माणमा अवरोध गरेका थिए । यस पटक पनि त्यसै हुनसक्ने स्थानीयको आशंका छ । ‘केही मानिसले आधा निर्माण सकिएपछि काम रोकेर समस्या सिर्जना भयो, विकास अवरुद्ध भयो,’ नाम उल्लेख नगर्ने शर्तमा स्थानीयले भने, ‘यस पटक पनि त्यही समस्या दोहोरिन्छ जस्तो छ ।’
यता नेता माझीले भने खाली जग्गा जहाँ देख्यो त्यहीं कृषि बजार नहुने भन्दै निर्माणको विरोध हुनसक्ने संकेत गर्नुभयो । ‘त्यहाँ कुनै ठूलो विकास हुन आँटेको होइन, रक्सी भट्टी, भुजा, चना चट्पटेका लागि बजार निर्माण गर्न लागिएको हो,’ माझीले भन्नुभयो, ‘त्यहीं नै कृषि बजार बनाउनु पर्छ भन्ने कँही छैन, हामी स्थानीय अधिकारप्रति सचेत छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्