संविधान दिवस भव्य र हर्षोल्लासका साथ मनाउने निर्णय

<span class='c1'>संविधान दिवस भव्य र</span> <span class='c2'>हर्षोल्लासका साथ मनाउने निर्णय</span>

काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिले संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षोल्लासका साथ मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको मूल समारोह समितिको बैठकले नेपालको संविधान जारी गरेको दिन असोज ३ गते विभिन्न कार्यक्रमका गरी स्वदेश र विदेशमा समेत राष्ट्रिय दिवसका रुपमा भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न तीनवटा उपसमिति समेत गठन गर्ने निर्णय गरेको छ ।

संविधान दिवस मूल समारोह समितिमा प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्री, उपसभामुख, पूर्व सभामुख, राज्यमन्त्री सदस्य रहनुभएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, सर्वोच्च अदालतका न्यायाधीश, सांसद, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, व्यवस्थापिका–संसद् सचिवालयका महासचिव, राजनीतिक दलका प्रमुख, संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरु, नेपाल सरकारका सचिवलगायतका महानुभाव मूल समारोह समितिमा सदस्य हुनुहुन्छ ।

सूचना तथा सञ्चारमन्त्री संयोजक रहनुभएको २२ सदस्यीय प्रचारप्रचार उपसमिति, काठमाडाँै महानगरपालिकाका प्रमुखको संयोजक रहनुभएको आठ सदस्यीय मञ्च सजावट तथा मञ्च व्यवस्थापन र काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १५ सदस्यीय ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थान समन्वय उपसमिति गठन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा असोज ३ गते बिहान ८ बजे संविधान दिवसको मूल कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुने छ ।

उक्त समारोहमा मूल समारोह समितिका अध्यक्ष तथा सदस्य, संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती, प्रहरी, जङ्गी, तथा सङ्घसंस्थाका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, मजदुर, किसान, सामाजिक सङ्घसंस्थासँग आबद्ध पदाधिकारी, नागरिक समाज र उद्योगी व्यवसायीका साथै सर्वसाधारणको समेत उपस्थिति रहनेछ ।

संविधान दिवसको उपलक्ष्यमा असोज २ गते मुलुकभर महानगरपालिका, उपमहानगरपालिका र गाविसले आ–आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवम् ब्यानर सजाई शृङ्गार र सफाइ गर्ने कार्यक्रम बनाइएको छ ।

संविधान दिवस राष्ट्रिय दिवसका रुपमा भव्यताका साथ मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने, राष्ट्रिय पत्रपत्रिकामा संविधान विशेषाङ्क र स्मारिका प्रकाशन गर्ने तथा नेपाल टेलिभिजन र रेडियो नेपाललगायतका सञ्चारमाध्यमबाट संविधानका महत्वका बारेमा परिसंवाद कार्यक्रम चलाउने बैठकले निर्णय गरेको छ ।

असोज ३ गते मुख्य समारोहका अतिरिक्त सूर्योदयका साथ नेपाली सेनाद्वारा विगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदको सम्मानका लागि चिरशान्तिको राष्ट्रका तर्फबाट उच्च सम्मान र श्रद्धाञ्जलि प्रकट गर्दै धार्मिक पूजापाठ गर्ने कार्यक्रम बनाइएको छ ।

संविधान दिवस मनाउने सिलसिलामा आगामी असोज ४ गते रेडियो नेपालबाट फूलबारी तथा लोक दोहोरी गीत सम्मेलनको आयोजना गर्ने, साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको छ ।

उपत्यका बाहिरका जिल्लामा सदरमुकाममा जिल्ला विकास समितिका प्रमुखको अध्यक्षतामा तथा स्थानीय निकायमा सम्बन्धित निकायको प्रमुखको अध्यक्षतामा तीन दिनसम्म संविधान दिवससम्बन्धी प्रभातफेरी, प्रवचन, साहित्य गोष्ठी, संवार्ता, खेलकुलजस्ता विविध कार्यक्रम र साँझ दीपावली गर्ने व्यवस्था मिलाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्