भटाभट सामुदायिक वनको नाममा सरकारी वन मासिँदै

भटाभट सामुदायिक वनको नाममा सरकारी वन मासिँदै

मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ स्थित ठूलोसिममा रहेको सरकारी वन सामुदायिक वन भन्दै अहिले फँडानी हुने क्रम बढिरहेको छ ।

स्थानीयवासीले ठूलोसिम सरकारी वन क्षेत्रको करिब ३० रोपनी जग्गाको क्षेत्रफलमा रहेको वन सरकारी वा सामुदायिक भन्ने विषयमा पूरै समुदाय नै अनभिज्ञ रहेको समेत गुनासो गरेका छन् । विगत लामो समयसम्म सो क्षेत्रमा रहेको श्री शीतलादेवी माध्यमिक विद्यालय पहिरोको कारण अन्यत्र सरेपछि सो क्षेत्र सरकारी वनका रुपमा विकास भएको थियो ।

एक हप्ताअघि मात्र स्थानीयवासीको सुराकीका आधारमा वन फँडानी हँुदै भन्ने खबरपश्चात् ठूलोसिम सरकारी वनक्षेत्रमा पुगेका इलाका वन कार्यालय नवलपुरको टोलीले रूख काट्दै गरेको अवस्थामा डम्बरबहादुर खड्कालाई पक्राउ गरेको थियो । रूख काटेको विषयमा संलग्न रहेका अन्य दुईजना भने अहिले अनुसन्धानका क्रममा रहेको इलाका वन कार्यालय नवलपुरका प्रमुख टङ्कप्रसाद गौतमले बताउनुभयो ।

वन फँडानीको विषयमा पक्राउ परेका उनीहरुलाई अहिले तारिखमा छोडिएको छ भने आवश्यक अनुसन्धानसमेत भइरहेको इलाका वन कार्यालय बाहुनेपाटीका अनुसन्धान अधिकृत चीनकाजी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार वन कार्यालयले वन फँडानीको प्रकृति हेरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो । ठूलोसिम सरकारी वन क्षेत्रसँग जोडिएको डन्डिबियो सामुदायिक वन सरकारी वन हो या सामुदायिक वन भन्ने विषयमा जानकारी नहँुदासमेत सरकारी वन मासिने क्रम बढेको हो ।

सरकारी र सामुदायिक वनको सीमा क्षेत्र र सरकारी तथा सामुदायिक वन पहिचान नहुँदा पनि सरकारी वन मासिने गरेको स्थानीय शिक्षक गणेश दाहाल बताउनुहुन्छ ।

डन्डिबियो पहिरो पाखा सामुदायिक वन समितिका अध्यक्ष चन्द्रशेखर दाहाल भन्नुहुन्छ, “सरकारी वन र सामुदायिक वन क्षेत्रको सिमाना नभएकाले पहिला सिमाना छुट्याउनमा वन समितिले ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै, सामुदायिक तथा सरकारी वनको अनभिज्ञताका कारण सरकारी वन विनाश भएको दाहालको ठम्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्