कम्प्युटर इन्जिनियरिङ पढ्दै बहिरा विद्यार्थी

कम्प्युटर इन्जिनियरिङ पढ्दै बहिरा विद्यार्थी

बागलुङ, धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालय बागलुङमा कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु भएको छ । नेपालमै पहिलोपटक बहिरा विद्यार्थीले प्रवेशिका उत्र्तीणपछि कम्प्युटर इन्जिनियरिङ विषय पढ्ने अवसर पाएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी को आङ्गिक सम्बन्धन लिई विद्यालयले तीनवर्षे कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालन गरेको हो । यसले बहिरा विद्यार्थीको प्राविधिक शिक्षातर्फ उच्च शिक्षा हासिल गर्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।

सुरुमा धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयबाट प्रवेशिका उत्र्तीण गरेका कम्प्युटरतर्फका १७ जना र विराट बहिरा विद्यालय विराटनगरबाट प्रवेशिका उत्तीर्ण गरेका ११ जना बहिरा विद्यार्थीले पढाइ सुरु गरेका छन् । बागलुङ सदरमुकामस्थित कालिका कन्यामन्दिर मावि र विद्यामन्दिर उच्च माविका एक एकजना सुन्ने विद्यार्थीले पनि अध्ययन सुरु गरेको विद्यालयका प्रधानाध्यापक मधुसूदन निउरेले जानकारी दिनुभयो ।

बहिरा विद्यार्थीले तीनवर्षे पढाइ पूरा गरेपछि कम्प्युटर इन्जिनियरिङमा जुनसुकै क्याम्पसमा उपल्लो तहमा अध्ययन, अध्यापन तथा अन्य सरकारी निकायमा सेवा प्रवेश गर्न पाउनेछन् ।

विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासहित अध्ययन गर्ने व्यवस्था गरिएको विद्यालयका संस्थापक केवी रानामगरले बताउनुभयो । अध्यक्ष रानामगरका अनुसार बहिरा विद्यार्थीले प्राविधिक धारबाट उच्च शिक्षा हासिल गर्न अन्यत्र कुनै क्याम्पस नभएपछि विद्यालयले नै पढाउन सुरु गरेको हो ।

“विद्यालय तहसम्मका लागि सरकारले सहयोग दिने गरेको छ, उच्च शिक्षाका लागि सहयोग नआउने भएकाले सिटिइभिटीबाट आङ्गिक सम्बन्धन लिएर पढाइ सुरु गरेका हौँ” – संस्थापक रानामगरले भन्नुभयो । पहिलो चरणमा सिटिइभिटीले कक्षा व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन गरी कक्षा सञ्चालन गर्न रु ४८ लाख सहयोग गरेको छ ।

साथै हरेक वर्ष चारजना शिक्षकको तलब भत्ता सिटिभिटीले व्यवस्थापन गर्नेछ । साथै आङ्गिक भएकाले सिटिइभिटीको वार्षिक बजेटबाट पनि अन्य रकम व्यवस्थापन गर्न सक्ने जनाइएको छ । हाल ३० जना विद्यार्थीलाई हरेक छ महिनामा सेमेस्टर प्रणालीमार्फत परीक्षा लिइने र तीन वर्षसम्म छवटा सेमेस्टरमा अध्यापन हुने सिटिभिटी तीन वर्षे ‘कम्प्युटर डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ’ विषय संयोजक तथा शिक्षक कुलप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार पहिलो सेमेस्टरमा नेपाली, अङ्ग्रेजी, इन्जिनियरिङ गणित, इन्जिनियरिङ फिजिक्स, केमेस्ट्री, सि–प्रोग्रामिङ र कम्प्युटर फन्डामेन्टल विषय समावेश गरिएको छ । बहिरा विद्यार्थीलाई सबै विषय प्रोजेक्टरको माध्यम स्र्माट बोर्ड तथा सबै विषयको प्रयोगशालासहित साङ्केतिक भाषाका माध्यमबाट अध्यापन गराइनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्