मोरङका ग्रामीण क्षेत्रका विद्यालयमा पनि प्रोजेक्टरबाट पढाइ

<span class='c1'>मोरङका ग्रामीण क्षेत्रका विद्यालयमा</span> <span class='c2'>पनि प्रोजेक्टरबाट पढाइ</span>

पथरी (मोरङ), असोज । मोरङको ग्रामीण क्षेत्रका आधा दर्जनभन्दा बढी सरकारी विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएका छन् ।

सरकारी विद्यालयको पढाइ राम्रो हुन्न भन्ने मान्यतालाई मोरङको ग्रामीण भेगका सरकारी विद्यालयले गलत सावित गरिदिएका छन् । पठनपाठनलाई प्रविधिसँग जोड्दै आधुनिक शिक्षा प्रणाली अपनाएका कारण ती विद्यालयले सफलताको शिखर चुम्न सकेका हुन् ।

मोरङको झोराहाटको सरस्वती उच्च मावि, लखन्तरीको बेगनलाल निमावि, हरैँचाको जनता उच्च मावि, डङ्गाहाको लक्ष्मी मावि, शिशवनीबहडराको सरस्वती मावि, भौडाहाको लक्ष्मी निमावि र बैजनाथपुरको सार्वजनिक माविले तल्लो कक्षाको पढाइसमेत कम्प्युटर र प्रोजेक्टरबाट गर्न थालेका हुन् ।

सूचना प्रविधिलाई जोडेर पढाउने गरेका कारण पढाइप्रति विद्यार्थीको आकर्षण निकै बढेको छ । झोराहाटस्थित सरस्वती उच्च माविका प्राचार्य अशोक लुइँटेल भन्नुहुन्छ, “हामीले नर्सरीदेखि नै विद्यार्थीलाई अडियो भिजुअलको माध्यमबाट पढउने व्यवस्था गरेका छौँ । सो विद्यालयमा विद्यार्थीको सङ्ख्या विगतभन्दा निकै बढेको उहाँको दाबी छ ।”

बेगनलाल निमाविमा कक्षा ८ मा पढ्दै आएकी विद्यार्थी तालुक सरदारले भन्नुभयो “पहिलो पटक विद्यालयमै कम्प्युटर, प्रोजेक्टर देखेको नत्र देखेकै थिइन । अहिले म आफैँ चलाउँछु ।” उहाँले आफूहरु कम्प्युटर कक्षामा समेत सधैँ पढ्ने गरेको बताउनुभयो ।

बेगनलालका प्रधानाध्यापक कृष्णहरि घिमिरेका अनुसार विद्यालयमा भएका धेरै विद्यार्थी दलित समुदायबाट प्रतिनिधित्व गर्ने गरेका छन् । उहाँले भन्नुभयो, “हामीलाई वल्र्डभिजन र काउडेकले प्रोजेक्टर तथा ल्यापटप दिएपछि विद्यार्थी सूचना र प्रविधिको पहँुचसम्म पुगेका हुन् ।”

कोशीहरैँचा नगरपालिकाको जनता उच्च माविमा पनि अडियो भिजुअलको माध्यमको पढाइ हुने गरेको छ । सो माध्यमको पढाइले विद्यार्थीलाई निकै फाइदा पुगेको बाल क्लबका सचिव दिपीन भट्टराईको भनाइ छ । भट्टराईले भन्नुभयो, “आवश्यकता अनुसार शैक्षिक सामग्री उपलब्ध भएकाले पढ्न सजिलो भएको छ ।” कम्प्युटर र प्रोजेक्टरमार्फत हुने पढाइले विषयवस्तु बुझ्न निकै सजिलो भएको उहाँको भनाइ छ ।

भौडाहाको लक्ष्मी निमाविका प्रधानाध्यापक कृष्ण सुवेदीका अनुसार अहिले सानो कक्षामा पनि अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएको छ । सुवेदी भन्नुहुन्छ, “दूरदराजको गाउँ भएर पनि हामीले प्रविधिलाई अङ्गालेका छौँ, दाता संस्थाको सहयोगले नै यो सम्भव भएको हो ।”

शिक्षक नरेन्द्र माझीले पनि प्रविधिको प्रयोगबाट गरिने पठनपाठन निकै प्रभावकारी बन्ने गरेको बताउनुभयो । जिल्ला शिक्षा कार्यालय मोरङका विद्यालय निरीक्षक बलराम पराजुलीका अनुसार संस्थाले दिएको सहयोगलाई धेरै विद्यालयले सही सदुपयोग गरेका छन् । उहाँले भन्नुभयो, “दिएको सामग्रीको सही सदुपयोग भएको छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्