विराटनगर असोज १९ , यदि तपाई विराटनगर बजार दशैंको किनमेल गर्न जानुभयो भने तपाईंले हरेक सामानको पसलमा केही प्रतिशत छुट भएको पाउनुहुनेछ । खाद्यान्न देखि लुगाकपडा , जुत्ता देखि मोबाइल सबै कुरामा कम्पनी तथा पसलहरुले छुटको व्यवस्था गरेका छन् । सिमाक्षेत्र जोगबनी जाने ग्राहकलाई समेत आकर्षण गर्न विराटनगरका व्यापारीले पनि छुट र अफरको व्यवस्था गरेको व्यापारीहरु बताउँछन् । विराटनगरमा लुगाकपडामा ३० % देखि ३५ % सम्म छुटको व्यवस्था गरिएको छ भने जुत्तामा २५% - ३०% छुट साथै कम्पनी अनुसारको अफरहरुपनि छदैछन् । खाद्यान्नमा पनि व्यापारीले राम्रो छुट साथै केही वस्तुमा जोगबनी जत्तिकै मुल्य राखेर बेचिरहेका छन् । केहिदिन शान्त रहेको विराटनगर बजारमा अहिले ग्राहकको बाक्लो उपस्थिति देख्न सकिन्छ । विशेषगरी साझको समयमा मानिसहरूको भिड हुने गरेको व्यापारीहरुको अनुभव छ । जोगबनी जादा भिडभाड साथै सवारीसाधनको समस्या हुने गरेकोले बिराटनगर मै दशै किनमेल गर्न आएको बिराटनगर-७ कि रमिला बस्नेतले बताइन् । भिड बढिरहेको र आगामी दिनमा अझ भिड बढ्दै जाने अनुमान कपडा व्यापारी श्रीराम चौधरी बताउँछन् । विराटनगरमा किनमेल गर्न यस पटक सुनसरी , झापाबाट पनि ग्राहक आएको उनले बताए ।