एमबिबिएस पास गराउन यसरी हुन्छ केयुका कलेजमा चलखेल

एमबिबिएस पास गराउन यसरी हुन्छ केयुका कलेजमा चलखेल

एमबिबिएसमा कमजोर विद्यार्थी पास गराउन काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतका कलेजहरुले आफैं उत्तरपुस्तिका जाँच्न पाउनु पर्ने भन्दै विश्वविद्यालयका पदाधिकारीलाई दबाब दिन थालेका छन् ।
आफूखुसी उत्तरपुस्तिका जाँच्दै आएका कलेजहरुको मनपरी बिरुद्ध उजुरी परेपछि केयूले सन् २०१६ मार्च र अप्रिलमा भएको परीक्षाको सबै कलेजबाट उत्तरपुस्तिक लगेको थियो । केयुले लगेको उत्तरपुस्तिका सम्बन्धीत कलेजकै प्राध्यापकहरु बोलाएर जाँच गर्न लगाइएको थियो । उक्त क्रममा ५० प्रतिशत भन्दा बढी विद्यार्थी फेल भएका थिए ।
तर विगतमा कलेजले आफैँ उत्तरपुस्तिका जाँच्दा भने ९० प्रतिशत भन्दा बढी विद्यार्थी पास हुने गरेका थिए । सैद्धान्तिक विषयमा कलेजले मनलाग्दी पास गर्ने गरेको पुष्टि भएपछि विश्वविद्यालयले उत्तरपुस्तिका जाँचमा थप कडाई गर्ने तयारी गरिरहेको हो ।
कलेजहरुले विश्वविद्यालयको नयाँ नियमको बिरोध गरेका छन् । उनीहरुले धेरै विद्यार्थी फेल हुँदा कलेज बदनाम हुने र मेडिकल काउन्सिलले पनि कोटा घटाउन सक्ने भएकाले आफैं उत्तरपुस्तिका जाँच गर्न पाउनु पर्ने व्यवस्था मिलाउन विश्वविद्यालयलाई राजनीतिकरुपमा चर्को दबाब दिन थालेका छन् ।
विश्वविद्यालयले एमबिबिएस/बिडिएसमा हरेक विषयमा ७० पुर्णाङ्कको सैद्धान्तिक परीक्षा लिन्छ । यो परीक्षामा पास हुन ४० प्रतिशत नम्बर ल्याउनु पर्ने हुन्छ । परीक्षाको समयमा केयूले एक्सर्टनल प्राध्यापक पठाउने गथ्र्यो । सैद्धान्तिक परीक्षा सम्बन्धीत कलेजमै हुन्छ । यो परीक्षाको उत्तरपुस्तिका कलेजले आफैं चाँच्ने र मनपरी नम्बर चढाएर रिजल्ट विश्वविद्यालयमा पठाउँथ्यो । यो व्यवस्थाका कारण कलेजले मनपरेका विद्यार्थीलाई अत्याधिक धेरै नम्बर दिने र मन नपरेकालाई कम नम्बर दिने वा फेल नै गराउने गरेका थिए ।

कोडिङ हुँदैन

केयुले एमबिबिएस र बिडिएस परीक्षामा अहिलेसम्म उत्तरपुस्तिकाको कोडिङ गर्ने गरेको छैन । कोडिङ नहुँदा उत्तरपुस्तिका कुन विद्यार्थीको हो भन्ने उत्तरपुस्तिका जाँच्ने प्राध्यापकलाई सबै थाहा हुन्छ । त्यसो हुँदा प्राध्यापकले आफ्नो इच्छा अनुसार थप नम्बर दिन समेत सक्छन् । जसले गर्दा कलेजले अधिकांश विद्यार्थी आफु खुसी पास गराउदै आएका थिए ।
तर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजमा भने अनिवार्य रुपमा कोडिङ हुने र परीक्षा नियन्त्रण कार्यालयमा नै उत्तरपुस्तिका जाँच हुँदै आइरहेको छ ।
केयुले अघिल्लो परीक्षामा कोडिङ गरी उत्तरपुस्तिका जाँच गर्ने तयारी गरेपनि कलेजकै दबाबमा कोडिङ हुन सकेन । सो परीक्षाको केयूमै उत्तरपुस्तिका जाँच भएपनि सम्बन्धीत कलेजकै प्राध्यापक बोलाएर जाँच गर्न लगाएको थियो । अहिले कलेज सञ्चालकहरु आगामी अक्टोबरदेखि हुने परीक्षाको कोडिङ पनि गर्न नहुने र उत्तरपुस्तिका आफैँ जाँच्न पाउनु पर्ने भन्दै विश्व विद्यालयमा दबाब दिन पुगेका हुन् ।

प्रयोगात्मकमा पनि उस्तै मनपरी

केयु अन्तर्गतका कलेजमा हुने प्रयोगात्मक परीक्षामा पनि मनपरी हुने गरेको छ । सबै वर्षका अन्तिम परीक्षाको प्रयोगात्मक परीक्षाको अघिल्लो दिन नै कलेजले विद्यार्थीलाई परीक्षामा कुन बेडमा कुन बिरामी पर्छ भन्ने जानकारी दिन्छन् । केयुले पठाउने प्राध्यापकलाई झुक्याउन पहिला नै विद्यार्थीलाई बिरामीको बारेमा जानकारी दिने गरेका छन् । बिरामीको बारेमा विद्यार्थीलाई पहिल्यै जानकारी दिएपछि पास हुने पक्का हुन्छ ।

विद्यार्थीको नम्बर प्रशासनले दिने

विद्यार्थीको प्रयोगात्मक परीक्षा विश्वविद्यालयबाट आएका एक्सर्टनल र डिपार्टमेन्टका प्राध्यापकले लिन्छन् । त्यही आधारमा उनीहरुले नम्बर दिने गर्छन् । उक्त नम्बर डिपार्टमेन्टका प्राध्यापकले प्रशासनमा बुझाउँछन् । तर उक्त नम्बरलाई प्रशासनले पुन परिवर्तन गरी आफूखुसी नम्बर हालेर विश्वविद्यालयमा नतिजा पठाउँछन् ।
कलेजको यो बद्मासीका विषयमा पनि विश्वविद्यालयमा उजुरी परेकोछ । उजुरीपछि विश्वविद्यालयले प्रयोगात्मक परीक्षामा पनि कडाई गर्ने तयारी गरेको छ । गत मार्च अप्रिलमा भएको प्रयोगात्मक परीक्षामा केही कडाई गर्न खोजेको थियो । उक्त परीक्षामा विश्वविद्यालयले दुई जना एक्सर्टनललाई पठाएको थियो । विगतमा एक जान मात्र पठाइदै आएको थियो ।
चर्को शुल्कमा कमजोर विद्यार्थी भर्ना गर्ने गरेका कारण कलेज सञ्चालकहरु जसरी पनि विद्यार्थी पास गर्न चाहन्छन् । कलेजले लिने भएकाले परीक्षामा कुनै पनि नियम लागू हुँदैन । प्राध्यापकहरुले विद्यार्थीलाई चिट चोर्न समेत सघाउँछन् । प्राय कलेजमा सिसिटिभी क्यामरा भएपनि परीक्षाको समयमा बिगार्ने गर्छन् । अधिकांश कलेजका विद्यार्थीहरुले परीक्षामा मोबाइल लगेर उत्तर सार्ने गरेको पनि पाइन्छ ।

 

(पाठशाला टाइम्सबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्