आयल निगम बिराटनगरमा अख्तियारको दुरुपयोग गर्दै कर्मचारी नियुक्त

आयल निगम बिराटनगरमा अख्तियारको दुरुपयोग गर्दै कर्मचारी नियुक्त

बिराटनगर कार्तिक २३ , नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका विवादास्पद कार्यालय प्रमुख दिनेश यादवले अख्तियारको दुरुपयोग गर्दै एक कर्मचारीलाई करारमा नियुक्त गरेका छन् । क्षेत्रीय प्रमुखको अधिकार क्षेत्र भित्र नपर्ने पदमा उनले नियुक्ती दिएर झापा स्थित निगमको चारआली डिपोमा पठाएका हुन् । मोरङ बेलवारी घर भएकी इन्दिरा दाहाललाई यादवले वरिष्ठ सहायक ५ औं तहमा एक वर्षकालागि सेवा करारमा नियुक्त गरेको पत्र दिएका छन् । त्यसको जानकारी चारआली स्थित डिपोमा पनि पठाएका छन् । नेपाल आयल निगमको कर्मचारी प्रशासन विनियमावली २०६३ अनुसार सहायक तथा वरिष्ठ सहायक कुनै पनि पदमा करार सेवामा नियुक्ती गर्न पाइदैन । नियमावलीले श्रेणीविहिन पदमा मात्र करार सेवामा नियुक्त गर्न सकिने व्यवस्था गरेको छ । त्यसकालागि पनि पदपुर्ती समिति गठन गरेर खुल्ला तथा आन्तरिक परिक्षाको विधि मार्फत नियुक्ती गर्नु पर्ने वाध्यकारी व्यवस्था छ । कानुन विपरित नियुक्त गरी हाजिर गर्न दाहाललाई झापा पठाएपनि चारआली डिपोले उनलाई हाजिर नगराई फर्काइदिएको छ । कानुन विपरित नियुक्ती भएको भन्दै चारआलीले दाहाललाई नियुक्ति दिने निकायमै सम्पर्क गर्नु भन्दै फिर्ता पठाएको हो । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको निर्देशनमा यादवले दाहाललाई करार सेवामा नियुक्त गरेका हुन् । नियमावली विपरित नियुक्ति भएको विरोधमा निगममा क्रियाशिल आधिकारिक टे«ड युनियन तथा अन्य क्रियाशिल सबै संघ संगठनहरुले प्रश्न उठाएका छन् । कर्मचारी संगठनहरुले करार सेवामा भएको नियुक्तीको विरोध गरेपछि यादवले कार्यकारी निर्देशकले नियुक्त गर्न भनेपछि आफुले निर्णय गरेको बताएका छन् । उनले कार्यकारी निर्देशकले त्यस सम्वन्धमा पठाएको पत्र सुरक्षित रहेको दावी पनि गरेका छन् । यादवले अरु दुई जना कर्मचारीलाई विराटनगर स्थित कार्यालयमै नियुक्त गरेका छन् । ति मध्ये एक जना १४ वर्षका वालकलाई दैनिक ज्यालादारी पदमा नियमित हाजिर गराइरहेको पाइएको छ । त्यस विषयमा कर्मचारीहरुले पटक पटक विरोध जनाएपनि यादवले कसैको कुरा नसुनेको कर्मचारीहरुले बताएका छन् । यादवको मनोमानी विरुद्ध रुष्ट बनेका कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसंद्दान आयोगमा उजुरी गर्ने तयारी थालेका छन् । निगम केन्द्रीय कार्यालयका प्रशासन प्रमुख विशाल ओझाले सहयाक पदभन्दा माथिको कुनै पनि पदमा नियुक्ति गर्न नपाइने बताउनुभयो । क्षेत्रीय डिपो विराटनगरले त्यसरी नियुक्त गरेको केन्द्रीय कार्यालयलाई औपचारीक जानकारी नभएको र त्यसरी नियुक्ति गरेको भए नियम विपरित हुने ओझाले बताउनुभयो । विगतदेखि नै विवादास्पद छवी बनाएका यादव निगम भित्र भ्रष्ट कर्मचारीको रुपमा परिचित छन् । विगतमा कानुन व्यवसायिको रुपमा काम गरेका उनी त्यहि कानुनी प्रावधानको जानकारीका आधारमा भ्रष्टाचारलाई संस्थागत गर्न खप्पिस छन् । उनी निगमको अमलेखगञ्ज स्थीत क्षेत्रीय डिपोमा बस्दा अनियमितता गरी २२ जनाको जागिर जोखिममा पारेका थिए तर उनी आफु भने उम्किन सफल भएका थिए । पछि भैरहवामा रहँदा पनि उनले कयौं ट्यांकर इन्धन बाटैमा बिक्री गरेको प्रमाण फेला परेको थियो । त्यस काण्डमा थुप्रै कर्मचारी निलम्वनसहित कारवाहीमा परेका थिए । यादव विराटनगर आएपछि निगमको ‘टार्गेट लस’ पनि अधिक बढेको बताइएको छ । विगत तीन वर्षदेखि ४० प्रतिशत रहेको ‘टार्गेट लस’ यो तीन महिनामा बढेर ५७ प्रतिशत पुगेको प्राविधिक पक्षले जानकारी दिएको छ । यसबाट पनि कर्मचारीहरु आत्तिएका छन् । यो घाटा झण्डै ३ करोड बढी रहेको र त्यसमा यादवको संलग्नता देखिएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्