बिनु तिम्सिना
पुस ३ ,बिराटनगर
परिषद्ले राष्ट्रिय प्रतियोगिताका लागि छनोट खेलाडीमध्ये विभिन्न सात खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राखेको भन्दै अन्य खेलका खेलाडी र प्रशिक्षकले विरोध जनाएका छन् ।
छैटौं राष्ट्रिय प्रतियोगितामा बन्द प्रशिक्षणमा समावेश गरिएका खेललाई यसपालि नराखिएको सम्बद्ध खेलका खेलाडी र प्रशिक्षकको गुनासो छ । छैटौं प्रतियोगितामा आईटीएफ तेक्वान्दोको प्याट्रन इभेन्टमा रजत र स्पाइरिङमा कांस्य जितेका मोरङका खेलाडी दोर्णबहादुर मगरले बन्द प्रशिक्षण नराखिदा खेलाडिहरुलाइ अभ्यासमा समस्या भएको गुनासो गर्नुभयो ।
परिषद्ले यसपालि फुटबल, भलिबल, बास्केटबल, ह्यान्डबल, खो–खो, कपर्दी र क्रिकेट खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राखेको छ । बजेट अभावले सबै खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न नसकिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताउनुभयो ।
व्यक्तिगत पदकका लागि प्रतिस्पर्धा गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न नसकिने बताउँदै सामूहिक पदकका लागि प्रतिस्पर्धा गर्ने खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राखिएको बताउनुभयो । सामूहिक पदकका खेलबाहेक अन्य खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न सरकारले बजेट नै नदिएपछि व्यवस्थापन गर्न नसकिएको उहाले जानकारी दिनुभयो ।