महेन्द्रनगर । एमालेले कञ्चनपुरको पुनर्वासमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको परिवारलाई पाँच लाख रुपैयाँ र एउटा ल्यापटप सहयोग गरेको छ ।
पार्टीको मेची–महाकाली अभियानअन्तर्गत बिहीबार महेन्द्रनगरमा आयोजित अन्तिम सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमको परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्दै पार्टी जिल्ला अध्यक्ष तारा लामा तामाङलाई चेक हस्तान्तरण गरेका हुन् ।
एमालेले सहिद गौतमका छोराछोरीका लागि एउटा ल्यापटप पनि प्रदान गरेको छ । गौतमका छोराछोरीको पढाइको जिम्मेवारी राज्यले नलिए एमालेले लिनेसमेत ओलीले बताएका छन् ।
भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै पसेर गोली हान्नु दुर्भाग्यपूर्ण भन्दै उनले भारतले नेपाली जनतासँग तत्काल माफी माग्नुपर्ने बताए । ‘यो घटना हाम्रो स्वाधीनतामाथिको प्रहार हो’, उनले भने, ‘भारतलाई माफी माग्न लगाएर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्छ ।’ यस विषयमा आफूले प्रधानमन्त्रीसँग गम्भीर छलफल गरेको उनले बताए । स्रोत : अन्नपुर्ण पोष्ट दैनिक