प्रधानमन्त्री पुष्पकमल दाहाल सात दिने चीन भ्रमणका लागि आज बोआओ प्रस्थान गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल सात दिने चीन भ्रमणका लागि आज बोआओ प्रस्थान गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल सात दिने चीन भ्रमणका लागि आज बोआओ प्रस्थान गर्दै हुनुहुन्छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राति चीनको बोआओतर्फ प्रस्थान गर्न लागेको हो ।

प्रधानमन्त्री दाहालले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने तालिका छ । भ्रमणका क्रममा नेपाल र चीनबिच कुनै सम्झौता नभएपनि यसअघि भएको व्यापार तथा बाणिज्य सम्झौता लगायतका सम्झौता कार्यान्वयन गर्न भ्रमण महत्वपूर्ण हुने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । नेपाली पक्षले चार पाँचवटा सम्झौता गर्ने तयारी गरेपनि प्राविधिक कारणले यसपटकको भ्रमणमा सम्झौता नहुने उहाँले बताउनुभयो ।
बोआओमा रहँदा प्रधानमन्त्री दाहालले आउँदो शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्री दाहालकी पत्नी सीता, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी लगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध स् समृद्धिका अवसर’ विषयक छलफल कार्यक्रममा प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्नुहुनेछ । त्यहिदिन उहाँले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै त्यो विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नुहुनेछ ।
भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने परराष्ट्र मन्त्री महतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्