धेरै पहिलेको कुरा होइन, त्यस्तै ३३-३४ वर्ष अगाडिको कुरा होला । डकैती प्रवृत्तिको चोरी भयो मेरो घरमा । डकैती प्रवृत्ति भनेको कस्तो भने तिनीहरूको हातमा बन्दुक थिएन, फलामका छोटाछोटा हतियार मात्र थिए । दाजु ढोका खोल्नु भनेर २-३ चोटि भनेपछि कोही चिनजानको मान्छे होला भनेर मैले ढोका खोलेको थिएँ । उनीहरूले फलामे हतियार देखाएर भने ‘पैसा कहाँ छ ?’ मैले नरम हुँदै भनेँ ‘ए ! पैसा त बैँकमै पो छ त चेक काटिदिऊँ !’ उनीहरूले कोठाभरि खानतलासी गरे । सुन, चाँदी, पैसा केही थिएन कोठामा म ढुक्कै थिएँ । जाडोको एउटा नयाँ ज्याकेट थियो एउटाले त्यही बोक्यो । त्यही ज्याकेटमा ५-७ सय पैसा थियो त्यही लगे ।
म एक डेढ वर्षअघि बसाइँ सरेर इटहरी आएको थिएँ । इटहरी चोकको आशपास राजमार्गमा पच्चीस तीस हजार रूपैयाँमा एक कठ्ठा जग्गा पाइन्थ्यो । पैसा कम भएको हुँदा म अलिक पर जग्गा किनेर घर बनाउन गएको थिएँ । त्यो अलिक पर भनेको हालको इटहरी बसपार्कभन्दा निकै वर प्रगति चोकनेर हो । त्यो एकलास ठाउँमा न्यौपाने साइला दाइ (ओमप्रसाद न्यौपाने) र मेरो घर थियो । केटाकेटीहरू साँझ बिहान हिँड्न डराउँथे । बजारमा चोरी गर्ने दुलेचोरहरूले चोरेर लगेको बाकस फुटाउने क्षेत्र रहेछ त्यो । खेतमा शौच गर्न जाँदा चोरेले फ्याँकेका बाकस र थोत्राथाम्रा हामीले पनि देखेकै हो ।
त्यसरी चोरले मेरो घरलाई कब्जामा लिएको थाहा पाएछन् साइला दाइले र लुसुक्क घरबाट निस्किएर पुलिस थानामा पुगेर भनेछन् ‘मेरो छिमेकीकोमा डाका लागिरहेको छ, चाँडो हिँड्नुहोस् ।’ त्यसबेला पनि इटहरीको थाना अहिलेकै ठाउँमा थियो र असई हाकिम हुन्थ्यो क्यारे । दुई तीन जना पुलिस चोकको अलिक पश्चिमसम्म आएछन् र भनेछन् ‘कस्ता डाका हुन् ? तिनीहरूसँग कस्ता हतियार छन् ? हामी त त्यसै जान सक्दैनौँ यो मध्य रातिमा ।’ विचरा न्यौपाने साइला दाइ खेतको आलीतिर छलिदै घरतिर फिरेछन् । बाटोबाट हिँड्दा डाकासँग जम्काभेट होलाा कि भन्ने डरले खेतैखेत हिँडेका रहेछन् साइला दाइ । त्यसबेलासम्म चोरहरू हिँडिसकेका थिए । पल्लो कोठामा सुत्नु भएकी मेरी भाउजूले गुहारगुहार भनेपछि अलिक हतार गर्दै गए तिनीहरू ।
पुलिसकोमा निवेदन दिने काम भयो भोलिपल्ट । अर्को दिन केही मान्छेलाई पक्राउ पनि गर्यो पुलिसले । तेस्रो दिनदेखि मेरो घरमा भएको चोरीको घटनामा पञ्चायती राजनीतिका रङ्गहरू पोतिन थाले । त्यसबेला नारायणहिटी राजदरबार स्वयम् दुई खण्डमा विभक्त छ भनिन्थ्यो । राजा वीरेन्द्र नरमपन्थी थिए, क्रमशः जनतालाई खुकुलो शासन दिनुपर्छ भन्ने उनको दृष्टिकोण थियो । रानी ऐश्वर्य र ज्ञानेन्द्रहरू अनुदार शासन शैलीको पञ्चायत चाहन्थे । यही विभाजित दरबारको छत्र छायाँमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पनि विभाजित थिए । पञ्चका शीर्ष नेताहरू यसरी विभाजित भएपछि देशभरिका पञ्च कार्यकर्ताहरू दुई गुटमा विभाजित थिए । पञ्चायती व्यवस्था निर्दलीय थियो तापनि पञ्चहरू निर्दलभित्रका दुई दलमाा रूपान्तरित भैरहेका थिए ।
सुनसरी जिल्लाको एक धुरीमा दिलबहादुर, होमबहादुर श्रेष्ठहरू थिए । कम्युनिष्टहरूको क्याम्पबाट हाम फालेर धरान नगरको प्रधानपञ्च बन्न पुगेका कृष्णकुमार राई र इटहरीका प्रधानपञ्च रामकुमार सुब्बा अर्को धुरीमा थिए । कृष्णकुमार र रामकुमारको गुटले ठाडै भनिदियो ‘तेरो घरमा दिलबहादुरले डाका गराएको हो ।’ नभन्दै पक्राउ परेका मान्छे दिलबहादुरका कार्यकर्तामा चिनिएका मान्छे थिए । दुई हप्ता अगाडि मेरो सम्पादन र प्रकाशनमा निस्किने ‘सप्तकोशी साप्ताहिक पत्रिकामा दिलबहादुर श्रेष्ठमाथि गम्भीर आरोप लाग्ने समाचार प्रकाशित भएको थियो । यसरी मुद्दाले नाटकीय मोड लिन थालेपछि थाना गएर मैले मुद्दा फिर्ता लिएँ । ‘किन फिर्ता लिएको मुद्दा ? यस्तो नीच काम गर्नेलाई सबक सिकाएर छोड्नु पथ्र्यो’ भन्नेहरू धेरै थिए । ‘अब असली चोर भेट्न सकिँदैन भन्ने लाग्यो र फिर्ता लिएँ ।’ भने मैले ।
सुनसरी जिल्लाको सदरमुकाम इनरुवा स्थापना गर्ने मान्छे हुन् दिलबहादुर श्रेष्ठ (सानो बाबु) देशका गृहमन्त्री पनि हुन् । अत्यन्तै चलाख र साहसी नेता पनि मानिन्थे दिलबहादुर । उनलाई नै गम्भीर आरोप लाग्ने समाचार के थियो त ! यहाँ उल्लेख गर्नु सान्दर्भिक लागेको छ ।
इनरुवामा एउटा ठाउँको नाउँ ‘महेन्द्र चोक’ छ । खासमा त्यो कुनै महत्वपूर्ण चोकजस्तो पनि छैन तर राजमार्गमा छ । नामले त्यहाँ राजा महेन्द्रको केही हुनुपर्छ जस्तो लाग्छ तर त्यो पनि केही छैन एउटा पत्रकारको जिज्ञासा शान्त गर्न म महेन्द्र चोकबारे जान्न चाहन्थेँ । ‘त्यसबारे म जानकारी दिन्छु, कुनै दिन मेरोमा आऊ !’ भने गोपाल कोइराला ‘त्यागी’ दाइले । म गएँ, चिया त के बिहानको भात नै लफन्ड्याउने गरी । त्यसदिन जे थाहा भयो, त्यसलाई मैले समाचारको रूप दिएँ र प्रकाशित गरेँ । त्यसको सार यस्तो थियो–
‘हाल महेन्द्र चोक भनिएको ठाउँमा राजा महेन्द्रको शालिक राख्ने भनेपछि नै महेन्द्र चोक नामकरण भएको हो । त्यहाँ राजा महेन्द्रको शालिक राख्न दिलबहादुर श्रेष्ठ अध्यक्ष र शङ्कर दुलाल सचिव रहेको समिति पनि बनेको हो । चन्दा रसिद छपाएर धेरै चन्दा पनि उठाइएको छ । हाँसपोसा गाउँ पञ्चायतका प्रधानपञ्च ठकनलाल चौधरीसँग चन्दा दिएको रसिद हुनुपर्छ, प्रमाणको लागि । राजाको शालिक राख्ने नाममा उठेको पैसाको अत्तोपत्तो छैन र शालिक राख्ने काम पनि भएको छैन ।’
यो समाचारलाई उचालेर दिलबहादुर पक्षीय पञ्चलाई प्रहार गर्ने अवसर मिलेको थियो अर्काथरी पञ्चलाई । अझ त्यही समाचार प्रकाशन गर्ने सम्पादकको घरमा दिलबहादुरले डाका गराए भनेर हल्ला गर्न पाउँदा अझ ठूलो प्रहार हुने त छँदै थियो तर मलाई विश्वास लागेन । दिलबहादुरबाट यति सानो काम हुन्छ भन्ने लाग्दैन लागेन र मुद्दा फिर्ता लिएँ । आजको मितिमा दिलबहादुर श्रेष्ठ र शङ्कर दुलाल यो मत्र्यलोकमा हुनुहुन्न । आरोप हैन आज हामी उहाँहरूलाई भावपूर्ण श्रद्धाञ्जली मात्र दिन सक्छौँ ।
[email protected]