चैत्र १६ गते । पूर्वको बिभिन्न स्थानमा बुधबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन्।
इलामः- ईलाम नगरपालिका १० स्थित गोदकमा एसईइ परीक्षाको उत्तर पुस्तिका बोकेको ट्रक आँफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा जिल्ला रौतहट चपुर ५ बस्ने रन्जित मुखिया रहेका छन्। मुखियाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। मेची राजमार्ग अन्तर्गत रौतहटबाट इलामकोलागी उत्तर पुस्तिका बोकेर जाँदै गरेको ना.१ क ४००९ नम्बरको ट्रक आंफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी जिल्ला महोत्तरी श्रीपुर ४ बस्ने रामदरस यादब र उनकी श्रीमती फुल कुमारी यादब घाइते भई उपचारकालागी फिक्कल अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ। चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ। यसैगरी इलामकै देउमाई नगरपालिका १ स्थित भित्री सडक खण्डमा उत्तरवाट दक्षिणतर्फ बालुवा बोकेर जाँदै गरेको मे.१ त. ६३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा परी सोही ट्याक्टरका चालक देउमाई नगरपालिका ५ बस्ने युवराज लिम्बु घाईते भएका छन्। घाईते लिम्बुलाई उपचारकालागी इलाम अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
सिरहा:-सिरहाको धनगढी नगरपालिका १० मा म्याजिक भ्यानको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन्। घाईते हुनेमा धनगढी ९ बस्ने रमित यादब रहेका छन्। यादबलाई पूर्व पश्चिम लोकमार्गमा पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको ना १ ज ५९८२ नम्बरको म्याजिक भ्यानले ठक्कर दिएको थियो। ठक्करबाट घाईते यादबलाई म्याजिकका चालकले उपचारकालागी स्थानिय क्लिनिकमा लगेकोमा थप उपचारकालागी न्युरो अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ। म्याजिक भ्यान प्रहरीको नियन्त्रणमा राखिएको छ।
मोरङ:- मोरङको बेलबारी नगरपालिका केसलिया पुलमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ४ प २४९३ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाईकल चालक झापा गौरादह ५ बस्ने किशोर कार्की घाईते भएका छन्। घाईते कार्कीलाई उपचारकालागी न्यूरो अस्पताल विराटनगर पठाईएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
सप्तरी:- सप्तरीको बैरवा ५ मा ट्रिपरको ठक्करबाट एक जना पैदलयात्री घाईते भएकी छन्। घाईते हुनेमा बैरवा ७ बस्ने ६० बर्षिया बेचनीदेवी साह रहेकी छन्। साहलाई पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम आउँदै गरेको को १ ख ४६९५ नम्बरको ट्रिपरले पैदल हिडिरहेकी उनलाई ठक्कर दिएको थियो। ठक्करबाट घाईते साहलाई उपचारकालागी धर्मेश्वार किल्निक सप्तरी पठाईएकोमा थप उपचारकालागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ। ट्रिपर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ। सुनसरी;- सुनसरीको धरान उपमहानगरपालिका १५ स्थित मिलन चोकमा ट्याक्टरको ठक्करबाट साईकलमा सवार एक बालक घाईते भएका छन्। घाईते हुनेमा सोही ठाँउ बस्ने १३ बर्षिय प्रमिश थापा रहेका छन्। थापालाई भित्री सडक खण्ड अन्तर्गत पिण्डेश्वरीबाट श्यामचोक जाँदै गरेको मे १ त १५४६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। घाईते बालकलाई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पठाईएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। ट्याक्टरका चालकलाई उक्त कार्यालयको नियन्त्रणमा राखिएको छ।