श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनाएका छन्, तेह्रथुम हमरजुङ–७ का ४७ वर्षीय अमरकृष्ण बस्नेतले । करिब ६ वर्ष मलेसिया बस्दा उनले निकै दुःख पाएपनि अहिले कुनै चिन्तामा छैनन् ।
घरजग्गा धितो राखेर विदेश पुगेका उनले स्वदेशमै मेहनत गरे राम्रो कमाइ गर्न सकिने सन्देश अहिले दिइरहेका छन् । मलेसियाबाट फर्केपछि अहिले उनले गाउँमै दुग्ध परिकार उद्योग खोलेका छन् । सुरुमा चारजना साथीसँग मिलेर खोलेको सो उद्योग उनले एक वर्षदेखि आफ्नै एकलौटी बनाएर चलाइरहेका छन् ।
बस्नेतको दुग्ध परिकार उद्योगमा हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ । उद्योगबाट मासिक करिब ७ क्विन्टल छुपी र ४ सय किलो नौनी उत्पादन हुने गरेको छ । पनिर माग गरेअनुसार बनाउने बस्नेतले उत्पादित छुर्पी र नौनीका लागि बजारको कुनै समस्या नरहेको बताउनुभयो । अधिकांश घरबाटै बिक्री हुने र बाँकी काठमाडौँ तथा अमेरिकातर्फ समेत निर्यात हुने गरेको उनले बताए ।
हाल बस्नेतले छुर्पी घरैबाट प्रतिकिलो ८५० र नौनी प्रतिकिलो ५ सयमा बिक्री गरिरहेका छन् । उद्योगबाट मासिक १० लाख सम्मको कारोबार हुने गरेको छ । सबै खर्च कटाएर १ लाखसम्म बचत हुने उनले सुनाए ।
बस्नेतको उद्योगमा दैनिक ६ सय लिटरसम्म दूध खपत हुन्छ । करिब ७ लाख रुपैयाँ लगानी रहेकोे उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायतका काममा ४ जनालाई रोजगारीसमेत मिलेको छ ।