स्थानीय तहको चुनाबी चहलपहल तीब्र, १ नम्बर प्रदेशबाट ६ हजार चुनिने

स्थानीय तहको चुनाबी चहलपहल तीब्र, १ नम्बर प्रदेशबाट ६ हजार चुनिने

आगामी ४० दिनपछि हुने स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर १ का १३७ स्थानीय तहबाट ६ हजार ५९ प्रतिनिधि चयन गर्न गाउँ तहसम्म चुनाबी सरगर्मी बढ्दै गएको छ ।

पूर्वी नेपालका १४ जिल्ला समेटिएको यो प्रदेशमा रहेका १३९ स्थानीय तहबाट ती प्रतिनिधि चयन हुने भएका हुन् ।
प्रदेशमा रहेका १३७ स्थानीय तहमा १ हजार १ सय ५७ वडा रहेका छन् । जस अनुसार १३९ स्थानीय तहमा १३७ जना मेयर-प्रमुख, १३७ जना उपमेयर-उपप्रमुख चुनिनेछन् । यस्तै १ हजार १ सय ५७ जना वडा अध्यक्ष, २ हजार ३ सय १४ महिला वडा सदस्य (जसमा दलित महिला १ हजार १ सय ५७ अनिवार्य) र २ हजार ३ सय १४ खुल्ला वडा सदस्य चुनिनेछन् ।

स्थानीय तहको निर्वाचन ऐन अनुसार हरेक स्थानीय तहमा १ प्रमुख र १ उपप्रमुख तथा वडाहरुमा १-१ जना वडाअध्यक्ष सहित १ दलित महिला सदस्य २ महिला सदस्य र २ खुल्ला सदस्य चुनिन्छन् । स्थानीय तहको गाउँपालिकाको प्रमुखलाई अध्यक्ष र उपाध्यक्ष तथा नगर-उपमहानगर-महानगरपालिका प्रमुखलाई मेयर र उपमेयर भनिन्छ ।
प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढि मोरङबाट निर्वाचित हुनेछन् । मोरङमा रहेका १७ स्थानीय तहका १५९ वडाबाट ८२९ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यस्तै सबैभन्दा कम ७ वटा स्थानीय तह रहेको तेह्रथुमका ४३ वडाबाट २२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

मोरङपछि १५ स्थानीय तह र १३१ वडा रहेको झापाबाट ६८५ जना, १२ स्थानीय तहका १२४ वडा रहेको सुनसरीबाट ६४४ जना र १० स्थानीय तहका ८१ वडा रहेको इलामबाट ४२५ जना निर्वाचित हुनेछन् । यस्तै १० स्थानीय तहका ७९ वडा रहेको खोटाङबाट ४१५, १० स्थानीय तहका ७६ वडा रहेको संखुवासभाबाट ४००, ९ स्थानीय तहका ८१ वडा रहेको भोजपुरबाट ४२३ र ९ स्थानीय तहका ६१ वडा रहेको तालेजुङबाट ३२३ निर्वाचित हुनेछन् । यसैगरी ८ स्थानीय तहका ७५ वडा रहेको उदयपुर र ओखलढुंगाबाट ३९१-३९१, ८ स्थानीय तहका ६० वडा रहेको पाँचथरबाट ३१६, ७ स्थानीय तहका ६० वडा रहेको धनकुटाबाट ३१४ र ८ स्थानीय तहका ५२ वडा रहेको सोलुखुम्बुबाट २७६ जना निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार देशभरका मतदातामध्ये सबैभन्दा धेरै मतदाता भएको जिल्ला पनि यही प्रदेशको मोरङ भएको छ । मोरङमा स्थानीय तहको निर्वाचनमा मत दिने अधिकार भएका मतदाता ५ लाख ६३ हजार ८७० जना रहेका छन् । मोरङपछि झापामा ५ लाख १० हजार २१६ मतदाता रहेका छन् ।

प्रदेशमध्ये सबैभन्दा कम मतदाता भएको जिल्ला तेह्रथुम हो । तेह्रथुममा ६० हजार ७०४ जना मतदाता रहेका छन् । तेह्रथुमपछि सोलुखुम्बुमा ६१ हजार ७४६ मतदाता रहेका छन् ।

मधेसी मोर्चाले जनसंख्याको आधारमा स्थानीय तह बनाउनुपर्ने माग गरिरहेको बेला मतदाताको अनुपातमा मोरङबाट ६८० मतदाता बराबर १ प्रतिनिधि स्थानीय तहमा निर्वाचित हुने देखिएको छ । यस्तै झापामा ७४४ मतदाता बराबर १ जना र सुनसरीमा ६५४ मतदाता बराबर १ जना चुनिनेछन् ।
साना जिल्ला तेह्रथुमबाट भने २७६ मतदाता बराबर १ जना र सोलुखुम्बुबाट २२४ मतदाता बराबर १ जना निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्