सप्तरीमा २७ सय पण्डित जम्मा

सप्तरीमा २७ सय पण्डित जम्मा

सप्तरी, २९ चैत । नेपालमै पहिलोपटक सप्तरीको छिन्नमस्ता (सखडा) लक्षचण्डी रुद्र महायज्ञ सोमबारदेखि सुरु भएको छ ।
नेपालका विभिन्न शक्तिपीठका साथै भारतको विभिन्न ठाउँबाट पण्डितहरु यज्ञमा सहभागिता जनाउन आएका छन् ।
करिब २७ सय पण्डितद्वारा सामूहिक रुपमा मन्त्रोच्चारणसहित यज्ञ गरिने छिन्नमस्ता शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिनुभयो । वैशाख ६ गतेसम्म संचालन हुने यज्ञ मानव कल्याण तथा राष्ट्रमा शान्ति र अमनचयनको कामना गर्दै थालिएको हो । यो यज्ञ मुलुककै पहिलो र संसारकै चौथो भएको बताइएको छ ।
समुद्र मन्थन भएकै बेलामा यस्तो यज्ञको आयोजना गरिएको महन्थहरुले बताएका छन् । त्यसपछि राजा दशरथले त्रेतायुगमा तथा छिमेकी राष्ट्र भारत आजाद भएको समयमा यो यज्ञ गरिएको उहाँको दावी छ । भारतमा आजादी भएको समयमा पनि शान्ति सु–व्यवस्था कायम गर्नका निम्ति यज्ञ गरिएपछि कामना पूरा भएको बताउँदै उहाँले लक्षचण्डी रुद्र महायज्ञले आफ्नो मुलुकमा पनि शान्ति र अमनचयन कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
यज्ञका निम्ति ७ तले मण्डपको निर्माण गरिएको छ । नेपाल र भारतको विभिन्न तीर्थस्थलका पण्डितहरुद्वारा सामूहिक रुपमै यज्ञमा सहभागी भएको अवसर पनि पहिलो भएको पीठाधीश ठाकुरले बताउनुभयो । यज्ञस्थलमा हजारौंको संख्यामा श्रद्वालुहरु भेला भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्