काठमाडौं, वैशाख १० – सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकको निर्णय अनुसार पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते चुनाव हुने छ । दोश्रो चरणमा भने जेठ ३१ गते प्रदेश नम्बर १, २, ५ र ७ मा चुनाव हुने गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले जानकारी दिनुभयो । मधेसी मोर्चासँग हिजो भएको सहमति अनुसार सरकारले २ चरणमा चुनाव गर्ने निर्णय गरेको हो । तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या थपिने भएकाले त्यहाँ एक महिनापछि चुनाव गर्न लागिएको हो ।
सरकारले जेठ ३१ गते दोश्रो चरणको चुनाव गर्ने निर्णय गरे पनि त्यतिबेला वर्षा लागि सकेको हुने छ । यस्तै वैशाख ३१ गते पहिलो चरणको चुनाव गरेर जेठ १५ गते बजेट सार्वजनिक गरी जेठ ३१ गते चुनाव गर्न निर्वाचन आचारसंहिताले समेत दिने छैन ।