इलाम, बैशाख १६ गते।
भारत घर भइ हाल इलाम नगरपलिका-७ मा डेरा गरी बस्ने राजु चौधरीले शुक्रबार आफ्नै छोरीको घाँटी थिची हत्या गरी आत्महत्याको प्रयास गरेका छन्।
इलाम नगरपालिका-७ मा ठेलामा छोला पसल गरी बस्ने अन्दाजी ३१ बर्षिय राजु चौधरी र उनकी श्रीमती २७ बर्षिय बिमला चौधरी बिच शुक्रबार बेलुका घरायासी बिवाद भएपछी राजुले ८ बर्षिया छोरी बिरुषा चौधरी र ३ बर्षिया छोरी मिरा चौधरीलाई लिएर घर छाडी सोही स्थानको फ्रेण्ड होटलमा बस्न गएका थिए।
राजुले सोही होटलको कोठा नम्बर ४ मा रातको १२ बजेतिर छोरीहरु दुवैको घाँटी थिची आफू सिलिङ फेनको हुकमा पासो लगाई आत्महत्या गर्ने क्रममा अचानक गाठो फुकेर झरेपछी होटल संचालकले थाहा पाई प्रहरी चौकी चोकबजारमा खबर गरेका थिए।
घटनास्थलमा प्रहरीको टोली खटिगइ हेर्दा जेठी छोरी बिरुषा चौधरीको मृत्यु भइसकेको र कान्छी छोरी मिरा चौधरी अर्धचेतन अवस्थामा र बाबु राजु चौधरी समेत घाइते अवस्थामा फेला पारेको हो। घाइते मिराको बिर्तासिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने बाबुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरी स्राेत