विताृमोड । मूल्यमा असामान्य गिरावट आएपछि खस्किएको अलैची व्यवसायमा अझै सुधार आउन सकेको छैन ।
एक लाख १५ हजार प्रति मन विक्री हुँदै गरेको अलैंचीको मुल्य ४५ हजारमा झरेपछि यसको बजारमा समस्या भएको हो । मूल्यमा गिरावट र मिसावटले अलैंची व्यवसायमै ठूलो समस्या देखापरेको छ । भारतीय बजारमा नेपाली अलैंची मिसावट भएको आरोप लागेपछि थप समस्या बढेको थियो । व्यवसायी र सरोकारवालाले मिसावटका सन्दर्भमा अध्ययन गर्दा भारतीय व्यवसायीले लगाएको आरोप गलत भएको जिकिर गरिएको छ । केही व्यवसायीले भारतका व्यवसायीसँग तालमेल गरेर मिसावटको हल्ला चलाएको व्यवसायीको गुनासो छ । मिसावटले केही महिना अस्तव्यस्त भएको सो व्यवसायलाई मुल्यमा पनि गिरावट आउँदा विस्थापित समस्या झेल्नु परेको थियो । विश्व बजारमा माग हुने अलैंची पूर्वको ताप्लेजुङ, संखुवासभा, पाँचथर, धनकुटा, भोजपुर र इलाममा उत्पादन हुँदै आएको छ । नगदेवालीमा पर्ने अलैंचीमा मिसावटको हल्ला र मूल्यमा भएमो गिरावटले किसान र व्यवसायी दुवै मारमा परेको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । कृषक भन्दा व्यवसायी धेरै मारमा परेको उनको भनाई छ । खरिद गरेर स्टक राखिएको अलैंची कम मूल्यमा विक्री गर्नुपर्दा व्यवसायी थप मारमा परेको भट्टराई बताउँछन् ।
विश्व बजारमा नेपाली अलैंचीले ६० प्रतिशत बजार धान्दै आएको थियो । नेपाल सहित भारत र भुटानमा अलैंची उत्पादन हुने गरेको छ । नेपाली अलैंची भुटान र भारतको भन्दा राम्रो र माग धेरै भएको व्यवसायी बताउँछन् । केही वर्षअघिसम्म उत्पादन भन्दा माग बढि भएकाले मूल्य पनि चित्तबुझ्दो थियो – भट्टराई भन्छन् । विभिन्न समस्याले नेपाली अलैंचीको तुलनामा भारत र भुटानको अलैंचीले बजार लिँदै गरेको पाइन्छ । पछिल्लो समय भारत, भुटान र नेपाली अलैंचीको बजार बराबर भएको बुझिएको छ । अलैंचीको बजारलाई नोटबन्दीले पनि प्रभावित बनाएको महासंघका अध्यक्ष भट्टराईले जानकारी दिए ।
महासंघले अलैंचीको उत्पादन क्षेत्रफल बढाउन राज्यले सोही अनुसार किसानमैत्री कार्यक्रम ल्याउनु पर्ने माग समेत गर्दै आएको छ । विरुवा उत्पादन र विश्वबजारको प्रबद्र्धन गर्न राज्य तर्फबाटै पहल हुनुपर्ने व्यवसायी नेताको भनाई छ । अलैंची उत्पादनलाई व्यवसायीकरण गरे राज्यलाई पनि आर्थिक टेवा पुग्ने विश्वास गरिएको छ । इजलास दैनिक , झापा