काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चाले दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन ठूलो उत्सवको रुपमा सम्पन्न हुने दावी समेत गरे । आइतबार जनकपुरमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनभन्दा दोस्रो चरणको निर्वाचन बढी उल्लासमय वातावरणमा सम्पन्न हुने बताए ।
उनले दोस्रो चरणको निर्वाचन समयमै सम्पन्न हुनेमा शंका नगर्न पनि सबैमा आग्रह गरे । प्रधानमन्त्री दाहालले मधेशी मोर्चाको माग आंशिक भएपनि सम्बोधन गरेर निर्वाचनमा जाने पनि स्पष्ट पारे । प्रधानमन्त्री दाहालले सरकार दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुटेको पनि बताए ।