पर्सा । भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
वीरगन्ज उपमहानगरपालिका वडा नं १ मा अवस्थित जिल्ला शिक्षा कार्यालयबाट बिहीबार घुस रकम लिँदै गरेको अवस्थामा आयोगको कार्यालय काठमाडौँबाट आएको टोलीले जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर झालाई रङ्गेहात पक्राउ गरेको हो ।
पर्साको नेरा प्रावि मैरनपुर, पर्साको तीनतले भवन निर्माणको बिल फछ्र्यौट गरेबापत जिसिअ तिवारीले रु ५० हजार र इन्जिनियर झाले रु २० हजार नगद लिएपछि घुस रकमसहित पक्राउ गरिएको अख्तियार टोलीले जनाएको छ ।
नेरा प्रावि मैनपुरको तीनकोठे भवन निर्माणको रु १९ लाख ५० हजारको बिल भर्पाई फछ्र्यौट गरेबापत जिसिअ तिवारी र इन्जिनियर झाले रकम माग गरेको पूर्वसूचनाका आधारमा छापा मारी घुस रकम बरामद गरिएको अख्तियार टोलीले बताएको छ ।
बरामद गरिएको घुस रकमको बरामदी मुचुल्का गरी जिसिअ तिवारी र इन्जिनियर झालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका अधिकारीले बताएका छन् । रासस