हो हामीले मानसरोवर यात्राको क्रममा ब्रह्मपुत्रको पुल तरेर बोकेको लञ्च खायौँ । त्यसैगरी अप्रिय हुरी एकनासले चली नै रहेको थियो । सिगरेट सल्काउन सकिएन । पुलको पिलरमा छेलिएर लाइटर बालेको बल्दै–बल्दैन । भारतीय टोलीलाई मानसरोवर यात्राका लागि व्यवस्था मिलाउने एजेन्ट थियो नरेन्द्र राठौर । उसलाई पनि घरिघरि धुवाँ उडाउनै पर्ने । ऊ आयो र डाउन ज्याकेट फैलाएर हावा छेक्यो । त्यसपछि एउटै सल्किएको सिगरेटलाई अगुल्टोजस्तो बनाएर सबैका सिगरेट सल्काएका थियौँ । चीनिया ड्राइभइरहरू गाडीको सिटमै बसर बुङ्बुङ्ती धुवाँ उडाउँथे तर हामी त्यसो गर्न सक्तैनथ्यौँ । पुलबाट एउटा शहर देखियो । त्यति टाढा पनि थिएन तर यसो पुगेर आऊँ है भन्ने अवस्था किन थिएन भने अक्सिजनको कारणले हिँड्न कठीन थियो । त्यो शहरको नाम ‘सागा’ रहेछ । समुद्र सतहबाट ४६४० मीटर अर्थात् १५२२३ फुटको उचाइमा रहेको सागा बजार फिर्दा पसौँला भने गाइडहरूले । हामी बाटो लाग्यौँ । यहाँबाट पनि ल्हासा जाने कच्ची बाटो छुट्तो रहेछ तर हाम्रो बाटो अब पूरै पश्चिम लागेको थियो, ल्हासा जाने बाटोको विपरित ।
लाग्थ्यो हामी अनन्त हिमाली मरुभूमिबाट यात्रा गर्दैछौँ । दुईतर्फ सेतै हिउँ फक्रिएका हिमालहरू छन् । दक्षिणतिरका हिमालले नेपाललाई छेकेका थिए । अर्थात् ती हिमाल छिचोलेर हेर्ने हो भने सिङ्गै नेपाल देखिन्छ जस्तो लाग्थ्यो । उत्तरतिर पनि त्यस्तै हिमाल थिए तर ती हिमाल होचा थिए । दक्षिणमा देखिएको हिमाल अन्नपूर्ण रेञ्ज थियो होला । उत्तरतर्फको हिमाल कैलाश पर्वतको रेञ्ज रहेछ भन्ने थाहा पायौँ । बाटामा ढुङ्गा थुपारेजस्ता देखिने घरहरू भेटिन्थे । ती घर जमिनको सतहभन्दा धेरै अग्ला पनि थिएनन् । चिसोको कारणले जमिनमाथि भन्दा जमिनमुनि हुँदा रहेछन् घरहरू । ती घर चीनिया सरकारले बनाइदिएका हुन् रे । नभन्दै प्रत्येक घरमा चारवटा साना र एउटा ठूलो तारा भएका चीनिया कम्युनिष्ट पार्टीका झण्डा थिए । यी साना तारा शासित र यो ठूलो तारो शासक होला हैन ? भन्यो एकजना भारतीयले मित्रले । उसको प्रश्न सुनेर मैले पनि ध्यान दिएँ तारातिर । नभन्दै साना ताराहरू निरीह प्रजाजस्ता देखिए । सरकारले बनाइदिएका ती घरमा भएका झण्डा हेर्दा के प्रष्ट भयो भने चीनिया कम्युनिष्ट पार्टी भन्नु नै सरकार हो र सरकार भन्नु नै चीनिया कम्युनिष्ट पार्टी हो । हाम्रा गाडीहरू ८०, ९०, १०० र ११० किलोमिटर प्रतिघण्टाका दरले कुदिरहेका हुन्थे तर बाटो त्यति राम्राँे थियो कि यति छिटो गाडी चल्दैछ भन्ने थाहा लाग्दैन थियो । हामी माथि पनि हिमाल देख्थ्यौँ, कतैकतै तल पनि हिमाल देख्थ्यौँ । हामी हिँडिरहेको लोक अर्कै लोकजस्तो छ । ठाउँ ठाउँमा ठूला–ठूला तालहरू छन् बाँकीमा पानी छैन । बालुवा छ, गिटी छ । कुनै समयमा यहाँ समुद्र थियो होला भन्ने लाग्छ । यहाँ कुनै बोटविरुवा छैन, दुवो छैन अर्थात् यो मृत पहाड हो, यहाँ कुनै वनस्पतिको जीवन छैन । परपरसम्म आँखाले देखेका ठाउँहरू नागीजस्ता देखिन्छन्, गौचरनजस्ता देखिन्छन् । हजारौँ, लाखौँ एकड जमिनमा पाकेको गहुँँ खेती जस्तो देखिन्छ तर त्यो सबै भ्रम हो, मृगतृष्णा जस्तो । जहाँ वनस्पतिको अस्तित्व छैन त्यहाँ कसरी हुन्छ गहुँ खेती ! बाटामा फिरन्ते तिब्बतीहरू देखिन्थे । उनीहरूसँग चौँरी, घोडा, च्याङ्ग्रा, भेडा र कुकुर हुन्थे । कुनै–कुनैसँग ट्रेक्टर पनि देखियो । त्रिपाल टाँगेर केही दिन एक ठाउँ बस्ता रहेछन् र सर्दा रहेछन् ।
यिनीहरूलाई देख्ता सोलुखुम्बुको च्याल्सा भन्ने ठाउँमा देखेका ‘खम्पा’हरूको याद आयो मलाई । ती खम्पाहरू तिब्बतमा चीनिया कब्जापछि भागेका तिब्बती विद्रोहीहरू थिए । जसलाई नेपाल सरकारले सोलुको सल्लेरीभन्दा माथि च्याल्सा भन्ने ठाउँमा ठूलो गलैँचा कारखाना खोलेर रोजगारी दिएको थियो अर्थात् शरणार्थीको व्यवस्थापन गरेको थियो । अनि तिब्बतीहरूको यो अवस्था देख्ता लाग्थ्यो चीनिया सरकारले तिब्बतको भौतिक विकास त गर्छ तर तिब्बतीको चेतनाको विकासमा त्यति ध्यान दिँदैन । हामी नेपाली समय अनुसार साँझको ५ बजे न्यू डोङपा पुगेका थियौँ तर चीनिया घडीमा साढे सात बजिसकेको थियो । मलाई लाग्थ्यो यो न्यू डोङपा भन्ने ठाउँ हाम्रो रारा तालको समानान्तर उत्तरमा होला । लाग्थ्यो रात पर्न निक्कै समय बाँकी छ । आजको हाम्रो बास यहीँ हो, भन्यो गाइडले ।
शेर्पा भाइहरू यात्रुका झोला झिक्न, जिम्मा लगाउन लागे । बेलुकाको खाना र सुप बनाउने तरखरमा लागे । यात्रुहरूलाई सधैँ सुत्ने ठाउँ र पाइखानाको चिन्ता हुन्थ्यो । सबै सुत्ने ठाउँतिर लागे । म भने त्यहाँ रहेको एकमात्र होटलमा पसेँ । सबै ड्राइभरहरू पनि त्यहीँ पसिसकेका रहेछन् । उनीहरूको अगाडि ढाकीमा सुकेको मासु थियो । छुरीले काट्तै मुखमा हाल्दै थिए तिनीहरू । खानामा अरूची भएको थियो दुई दिनदेखि तर यो नयाँ चिज देखेपछि खाऊँ खाऊँ लागेर आयो र ढाकीतिर हेरिरहेँछु क्यारे । त्यो चीनिया ड्राइभरले बुझेछ क्यारे, खाऊ भन्ने इसारा गर्दै ढाकी मतिर सा¥यो । मैले पनि काटेर एकदुई टुक्रा मुखमा हालेँ । असाध्यै चाम्रो थियो । पसलकी शेर्पिनी बहिनीले दूध, घ्यू, नुन र भोटे चिया हालेर ‘सुचिया’ पकाइन् र त्यो पनि दिइन् । मीठो लाग्यो र एकाएक थकाइ पनि कम भयो । पछि मैले गाइडलाई सोधेँ त्यो सुकुटी के मृगको थियो ? उसले जवाफ दियो ‘चौँरीको’ ।