माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ३ महिनाअघि सम्पन्न गर्नेलाई १ अर्ब रुपैयाँ पुरस्कार दिइने

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ३ महिनाअघि सम्पन्न गर्नेलाई १ अर्ब रुपैयाँ पुरस्कार दिइने

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ३ महिनाअघि सम्पन्न गर्ने निर्माण व्यवसायीलाई १ अर्ब रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

आफ्नो १० महिना कार्यकालमा भएको प्रगतिको बारेमा जानकारी गराउँदै ऊर्जामन्त्री शर्माले निर्धारित समयभन्दा ३ महिनाअघि तामाकोसी सम्पन भए १ अर्ब रुपैयाँ पुरस्कार दिने प्रतिबद्धता जनाएका हुन् ।

“आयोजनालाई निर्धारित समयभन्दा ३ महिना अगावै सक्न के गर्नुपर्छ ?,” उनले मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोधे, “निर्धारित समयभन्दा अघि सक्न के के गर्नुपर्छ भन्नुस्, तर आयोजना ३ महिना अघि नै सम्पन्न हुनुपर्यो ।” समय अगावै काम सम्पन्न गर्नका लागि आफूले गर्नुपर्ने काम पूरा गरिदिने मन्त्री शर्माले प्रतिवद्धता जनाए ।

आयोजना आगामी ०७५ को असारमा पहिलो युनिट सञ्चालनमा ल्याउने र बाँकी युनिट सोही वर्षको मंसिरसम्म पूरा गर्ने कार्यतालिका तयार भएको छ । हाल आयोजनाको झण्डै ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजना सञ्चालनमा आएपछि भारतबाट वर्षातमा बिजुली आयात बन्द हुनेछ । हालसम्म आयोजना निर्माणमा ३३ अर्ब रुपैयाँ बढी खर्च भएको छ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकावन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनामा सिभिल ठेकेदारमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकल उपकरण आपूर्ति भारतको टेक्सम्याक लिमिटेड, इलेक्ट्रोमेकानिकल उपकरणमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो र प्रसारणलाइन निर्माणमा भारतको केईसी इन्टरनेसनल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्