अहिले हाम्रो शहर बिराटनगर ” महानगर” भएको छ ! महानगरको वासिन्दा हुन पाउनु गौरबको कुरो हुनुपर्ने हो तर मलाई चाहिँ गौरवान्वित महशुश हुनु भन्दा पनि एक किसिमको आक्रोश आईरहेको छ , आखिर किन त ? कुनै पनि शहर लाई महानगर घोषित गर्दा त्यहाँको जनसंख्या , विकास र सुबिधा लाई हेरिन्छ र त्यही अनुरुप चाहिए जति सबै मापदण्ड पूरा भएमा महानगर घोषित गरिन्छ , यो पुरानो चलन हो ! ठिकै पनि होला तर के त्यो भन्दा बढ्ता अरु केही चाहिन्न त ? सोच्नुहोला , जे जे चाहिने हो त्यही अनुरुपका पुर्वाधार भैसके पछि , अब यसलाई के पुगेनछ , के चाहिएछ भन्नुहोला ! हो , मलाई त अझै एउटा कुरो पुगेन जस्तो लाग्यो , त्यो हो महानगरवासिको सोच ! हो , शहर चाहिँ महानगर , भौतिक सुबिधा चाहिँ महानगर ,अनि सोच चाहिँ ? के यहाँका जनतामा , खासगरी ती जनता , जो आफुलाई एक्काइसौं सताब्दिका जनता भनेर गर्व गर्नुहुन्छ , वहाँहरुमा चाहिँ महानगरकै वासिन्दाको जस्तो सोच हुनुपर्दैन ? अब तपाईंहरु भन्नुहुन्छ , हो ठिकै भनिस , हाम्रो सोच पनि महानगरवासिकै जस्तो हुनुपर्छ ! अब सोध्नुहुन्छ होला अब यो सोच चाहिँ कसरी ब्यक्त हुन्छ त ??? कसरी थाहा पाउने त ? किनकी एक लाख भन्दा बढी जनसंख्या भएको महानगरमा एकै प्रकारको सोच त कसैको हुँदैन र हुन सम्भव पनि छैन ! थरिथरिका मानिसमा थरिथरिका सोच हुन्छन , यसको किन आवस्यकता पर्यो ? तपाईंहरुको भनाई सहि हो कि थरिथरिका मानिसमा भिन्न भिन्न सोच हुन्छन र तिनिहरुलाई केलाएर साध्य पनि हुँदैन र यो सहि तरिका पनि हैन तर हामी सबैको सोचलाई सामुहिक हितकोलागी सामुहिक सोच बनाउनत सकिन्छ नि , सकिन्न र ? सकिन्छ नि तर जो जिम्मेवार निकायमा बसेका छन तिनिहरुको नै संकीर्ण सोच हुन्छ जस्तो पो लाग्छ मलाई त ! जो ब्यक्ती जिम्मेवार निकायमा बसेका छन , तिनिहरु आफ्नो जिम्मेवारी पुरागर्न बसेका हुन कि ज्वाइँ पालिएझै पालिन बसेका हुन ? हामी सर्बसाधारण जनता चाहिँ हाम्रो शहर माहानगर भयो भनेर नाक घोक्र्याउछौ तर उता जिम्मेवार निकायमा बस्ने पधादिकारिहरु चाहिँ के गरेर बस्छन को नि ? न बिहान बेलुका हाम्रा घरका धारामा पानीका पाइप बाट पानी आउँछ , न फोहोर मैला उठाउने मानिस नियमित आएर फोहोरमैला उठाएर लैजान्छन , न सडकमा परेका खाल्डाखुल्डी पुर्ने निकायले ती खाल्डाखुल्डी पुरेका छन , न बन्दै गरेका निर्माणका कार्यलाई तदारुकताका साथ पुरागरेका छन , न सडक बत्ती नबलेका ठाँउमा सडक बत्तीको इन्तजाम गरेका छन ?

अहिले राम्रो भएको भनेको बिजुली बत्ती मात्रै हो , त्यो पनि एउटा ब्यक्तिको सोचको कारणले गर्दा भएको हो ! पहिले पहिले हाम्रो शहर नगरपालिका हुँदा हामी जिस्किएर भन्थ्यौ , नामै नगर छ अनि कहाँ बाट गर्छ त ? अहिले त झन महानगर भएको छ ! कतै त्यही नगरको महानगर भएरै हो त झन गर्दै नगरेको ? अब यसरी भन्दा या लेख्दा जिम्मेवार निकायमा बस्ने मानिसहरु भन्लान , सानातिना गुनासा त आईहाल्छन नि , यत्रो शहरमा , सबै समस्या एकैपटक समाधान गर्न कहाँ सम्भव हुन्छ र ? तर म भन्छु , तिमिहरु एक्लैले सबै काम गर्नुपर्छ र ? अलग अलग निकायमा बसेका जिम्मेवार ब्यक्तिले आफ्नो आफ्नो क्षत्रका काम पनि गर्दैनौ भने किन बस्नु ? त्यही तलब र भत्ता पचाउन ? मैले माथी उल्लेख गरेका कुराहरु तपाइँहरुलाई कस्तो लाग्दैछ ? म तपाइँहरुलाई यी जिम्मेवार निकायमा बसेका ब्यक्तिहरुको नालायकिको एउटा उदाहरण दिन्छु , तपाइँहरु आफैं मुल्यांकन गर्नुहोला ! अहिले सारा देशभरी नयाँ भवन बनाउदा भुकम्प- प्रतिरोधक र अपाङ्ग मैत्री बनाउनु पर्छभनेर रेडियो , टेलिभिजन र पपत्रपत्रिकामा बारम्बार कराएको कराऐ गर्छ तर यी जिम्मेवार निकायमा बस्ने ब्यक्तिका कान हुन्छन र सुन्छन ??अपाङ्गता सम्बन्धी काम गर्ने निकाय पनि के हेरेर बस्छन ? सर्वजनिक स्थलहरु त झन अपाङ्ग मैत्री हुनुपर्ने हो नि तर कहिँ कतै अपाङ्ग मैत्री बनेका छैनन ! दैनिकजसो नयाँ नयाँ होटेल, रेस्टुुरेन्ट ,सिनेमा हल , पार्क, र पिकनिक स्थलहरु धमाधम बन्दैछन तर जिम्मेवार निकायमा बस्ने ब्यक्तिले निरीक्षण गर्दैनन ! निरीक्षण त ठूलो कुरो भयो , ती इन्जिनियर भनाउदाको दिमागमा समेत त्यो सोच आउँदैन ! खर्च गर्ने मालिकले के गर्छन थाहा छैन तर सल्लाह र सुझाव दिने निकायकै जिम्मेवार ब्यक्तिको दिमागमा भुस भरिएको हो कि घुस भरिएको हो , न सुझाव सल्लह दिने सोच राख्छन न निरीक्षण गर्न जान्छन ! म त भन्छु त्यस्ता गैर जिम्मेवार ब्यक्तिलाई तुरुन्त बर्खास्त गर्नुपर्छ , किन बस्न दिनु ? त्यसैले मैले प्रश्न उठाएको , मुखले कि सोचले हामी महानगरवासी ?

पुरु

प्रतिक्रिया लेख्नुहोस