साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर एकको प्रमुख उपमहानगरपालिका ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ।
पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर सम्मानजनक मत ल्याएपछि वैकल्पिक राजनीतिका लागि परिपक्व विकल्पका रूपमा हेरिएको बताउँदै साझा पार्टीले ईटहरीको मेयरका लागि प्राध्यापन र समाजसेवामा संलग्न डाक्टर तारा काफ्ले र उपमेयरका लागि पत्रकार तथा मानव अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको जनाएको छ ।
पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा दोस्रो चरणको निर्वाचनमा साझा पार्टीका तर्फबाट उमेदवारी दिन दर्जनौं अनुरोधहरू प्राप्त भएका भए पनि संगठनको अभावमा पार्टीले मूलत: ईटहरीमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने लक्ष राखेको उल्लेख छ ।
डा काफ्लेले जनसङ्ख्या तथा जनस्वास्थ्यमा स्नातकोत्तर र सामुदायिक चिकित्सामा काशी हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छिन्। ईटहरी उपमहानगरपालिका वडा नं ५ निवासी ३८ वर्षिया काफ्ले जनसङ्ख्या, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अध्यापन, अनुसन्धान तथा समाजसेवामा सक्रिय छिन्। उनी ईटहरी उपमहानगरपालिका वडा नं ५ स्थित सेवामुलक विद्यालय ‘अमुर्त अक्याडमी’को संस्थापक अध्यक्ष हुन्। नैतिक जीवन र आध्यात्मिक चिन्तनमा विश्वास गर्ने काफ्ले हाल काठमाडौँ विश्वविद्यालय, विराट मेडिकल कलेज, टंकीशिनवारी, मोरङ्गमा उपप्राध्यापकका रूपमा कार्यरत छिन्। उनी आफ्ना उपमेयरका उमेदवार प्रकाशचन्द्र परियार र साझा पार्टीको विज्ञ टोलीसँग मिलेर इटहरीलाई सम्पूर्ण देशकै नमुना सहरका रूपमा विकास गर्ने खाका निर्माण गर्न कटिवद्ध छिन्।
त्यसैगरी प्रकाशचन्द्र परियार साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य हुन्। परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा कार्यरत छन्। एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका ईटहरी निवासी परियारले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका छन्। उनले परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएका छन्। सामाजिक रूपान्तरण र संमृद्धिका लागि असल मानिसहरू राजनीतिमा नहोमिए सम्म मुलुकको मुहार फेर्न नसकिने मान्यता राख्ने परियारले भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताको छवि बनाएका छन्।