नेपाली काँग्रेसकाे पुस्पलाल चाैकमा सम्पर्क कार्यालय स्थापना

नेपाली काँग्रेसकाे पुस्पलाल चाैकमा सम्पर्क कार्यालय स्थापना

विराटनगर २ असार । चुनावी प्रचारलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस नगर समिति विराटनगरले पुष्पलालचोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयको कांग्रेसका प्रभावशाली नेता महेश आचार्य, मोरङ कांग्रेस सभापति एवं सांसद डिगबहादुर लिम्बू र नगरसभापति एवं कांग्रेसबाट महानगरपालिकाको मेयरका उम्मेदवार भीम पराजुलीले संयुक्त रूपमा उद्घाटन गरे । वडा नम्बर ३ अन्तर्गतका मतदातालाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गरिएको पराजुलीले बताए । कांग्रेसले नगरसभापति पराजुलीलाई मेयर र इन्दिरा कार्की (इन्दु)लाई उपमेयरको उम्मेदवार बनाएको छ ।
सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता आचार्यले कांग्रेसले मात्रै हिमाल, पहाड र तराईलाई जोड्ने बताए । उनले कांग्रेसकै नीतिका कारण मुलुक अहिलेको अवस्थासम्म आइपुगेको दाबी गरे । एमालेको उग्रराष्ट्रवाद र मधेसवादी केही दलको उग्रमधेसवादले मुलुकलाई कमजोर बनाइरहेको उनको भनाइ थियो । ‘सबै जातजाति, भाषाभाषी र धर्म सम्प्रदायलाई जोड्ने एकमात्रै पार्टी भनेकै कांग्रेस हो,’ आचार्यले थपे, ‘अहिलेको अवस्थामा झनै कांग्रेसको भूमिका महत्वपूर्ण हुनेछ । त्यसका लागि सबै ठाउँमा कांग्रेसले जित्नुपर्छ ।’ मेयरका उम्मेदवार पराजुली र उपमेयरकी उम्मेदवार कार्कीले आफूलाई मत दिएर जिताउन मतदातालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्