काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा आइतबार गरिएको माछा तथा मासु पसलको अनुगमनका क्रममा बुढानिलकण्ठमा साढे १८ किलो कुखुराको मासु नष्ट गरिएको छ । बुढानिलकण्ठमा रहेको न्यू मिट सपमा अनुगमन गर्ने क्रममा टोलीले खान अयोग्य मासुु फेला पारेपछि नष्ट गरेको हो ।
उक्त पसललाई विभिन्न सुझाव तथा निर्देशन दिएको विभागले जनाएको छ । विभागले माछा र मासु पसलको मुख्य समस्या फोहोर रहेको बताएको छ । साथै व्यवसाय तथा प्यान दर्ता नगर्ने, मेसिनहरु प्रमाणिकरण नगर्ने आदि समस्यासमेत रहेको जानकारी गराइएको छ । कतिपय अवस्थामा पसलमा खानै नहुने बासी, कुहिएको, सडेगलेको मासु समेत बिक्री गर्ने गरेको फेला परेको छ ।
दोषी व्यापारीलाई सशक्त कारबाही नगरिँदा गल्ती दोहोर्याइरहने र सरकारले अनुगमन गरिरहने देखिएको छ ।
अनुगमनका क्रममा बुढानिलकण्ठको किशोर मिट सप, आरएस मिट सप, फ्रेस फिस हाउस, आरआर स्टोरलगायतमा सरसफाई नभएको, व्यवसाय तथा प्यान दर्ता नगरिएको, मूल्यसूची नराखिएको, नापतौल मेसिन प्रमाणिकरण नभएको लगायतका दोहोरिरहने समस्या भेटिएको थियो ।
ललितपुरको पुल्चोकस्थित स्वागत प्रोभिजन, एसएस स्टोर, अर्जुन स्टोर, भिमसेन इन्टरप्राइजेज, ओरिसा स्टोर, जैशवाल स्टोर, हशना कोल्ड स्टोर लगायतका खाद्य तथा किराना पसलहरुमा गरिएको अनुगमनमा पनि लेवल नभएको, म्याद नाघेको सामानहरु राखिएको, व्यवसाय दर्ता र नवीकरण नगरिएको आदि समस्या फेला पारेको थियो ।
अनुगमन टोलीले सामाखुसीस्थित निर्माण सामग्री तथा मनमैजु, बानियाँटारलगायतमा मिनीबस, बस, ट्याम्पो, माइक्रोबस लगायतको अनुगमन गरेको थियो । ती निर्माण सामग्री तथा यातायात व्यवसायीहरुलाई समेत आवश्यकताअनुसार सम्झाइ बुझाइ निर्देशन दिएर छोडेको विभागले जनाएको छ ।