सरकारी कर्मचारीलाई विदेश भ्रमणमा जानमा कडाइ

सरकारी कर्मचारीलाई विदेश भ्रमणमा जानमा कडाइ

काठमाडौं । आर्थिक वर्षको अन्त्यमा बजेट सक्न सरकारी उच्च अधिकारी विदेश भ्रमणमा जाने प्रवृत्ति बढेपछि यसलाई सरकारले रोक्ने भएको छ ।

अर्थ मन्त्रालयले यही साउनदेखि सरकारी कर्मचारीलाई विदेश भ्रमणमा जानमा कडाइ गर्न लागेको हो । बजेट सक्न सरकारी कर्मचारी विदेश जान थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । साउन १ गतेदेखि विदेश भ्रमणमा कडाइ गर्ने निर्णय भएको अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले बताए ।

व्यवस्थापिका संसदको सार्वजनिक लेखासमिति बैठकमा उनले सरकारी कर्मचारी विदेश भ्रमणमा जाँदा अर्थको स्वीकृति लिने बताउँदै अबदेखि कडाइ गर्ने नीतिगत व्यवस्था भएको जानकारी दिए । कतिपय सरकारी खर्च र कतिपय अन्य दाताको लगानीमा विदेश गएका हुन् । अहिले सरकारी कर्मचारीको जम्बो टोली विदेश भ्रमणमा रहेको छ । आव सकिन केही दिनमात्र बाँकी रहेपछि बजेट सक्न कर्मचारी विदेश भ्रमणमा गएका हुन् ।

बजेट सक्नका लागि विदेश भ्रमणमा गएका कतिपय अधिकारी फर्किसकेका छन् भने कतिपय जाने तयारीमा रहेका छन् । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) को लगानीमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ हङकङ र अष्ट्रेलिया भ्रमणमा जाँदैछन् । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका गरी जम्बो टोली बुधबार हङकङ प्रस्थान गरिसकेको छ । यस्तै, दाताको सहयोगमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय अष्ट्रेलिया जाँदैछन् ।

पछिल्ला २ महिनायता विभिन्न दाता र सरकारी खर्चमा १ हजार ४ सय बढी सरकारी अधिकारी विदेश भ्रमणमा गएका छन् भने कोही जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्