काठमाडौं । पल्सर स्पोटर््स अवार्ड २०७३ भदौमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रत्येक वर्ष गर्दै आएको स्पोटर््स अवार्ड भदौ २६ गते गर्ने जानकारी गराएको हो ।
२०७३ सालमा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका खेलाडी प्रशिक्षक, खेल अधिकारी तथा संस्थालाई पल्सर स्पोटर््स अवार्डबाट सम्मानित गरिनेछ । २०६० सालदेखि सुरु भएको अवार्डको यो १४ औं संस्करण हो । वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा सम्मान गरिने छ ।
वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपुल्स च्वाइस अवार्ड विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै, यसै वर्षदेखि अर्को एक विधाका विजेतालाई पनि मोटरसाइकल दिइने बताइएको छ । तर, कुन विधालाई दिने त्यो अहिले नै टुंगो नलागेको आयोजकले जानकारी दिएको छ । त्यसैगरी अन्य विधाका विजेताले ५० हजार नगदसहित गिफ्ट पाउनेछन् ।
यसअघि सम्पन्न १३ औं पल्सर स्पोटर््स अवार्डबाट वर्ष उत्कृष्ट पुरुष खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ, उत्कृष्ट महिला खेलाडीमा जुडोकी फुपुल्हामु खत्री, उत्कृष्ट युवा खेलाडी फुटबलका अन्जन विष्ट, बर्षका प्रशिक्षकमा फुटबलका बालगोपाल महर्जनलाई सम्मान गरिएको थियो । त्यसैगरी, पिपुल्स च्वाइस अवार्ड विजेता टेबलटेनिसकी नविता श्रेष्ठ, पारा एथलेटिक तेक्वान्दोकी सीता भण्डारी, र लाइफटाइम एचिभमेन्ट अवार्ड फुटबलका श्रीराम रन्जितकार, स्पेसल अवार्ड स्वर्गीय ललितकृष्ण श्रेष्ठलाई प्रदान गरिएको थियो । त्यस्तै, टिम अफ दि इयरको उपाधि भने नेपाली फुटबल टिमलाई प्रदान गरिएको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले यो अवार्ड खेलकुद पत्रकार मञ्चको मात्रै नभएर देशकै प्रतिष्ठित अवार्ड भएकाले भब्य बनाउन सबैलाई आह्वान गरे ।
पल्सर अवार्डलाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले प्रायोजन गरेको छ । कार्यक्रममा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालीका प्रबन्ध निर्देशक शखर गोल्छाले नेपालकै प्रतिष्ठित अवार्ड भएकाले आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए । उनले भने, “खेलकुदले मात्रै नेपालीलाई एक सुत्रमा बाँध्ने काम गर्छ । त्यसैले यो अवार्डको पनि महत्व बढी छ ।”