चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्कियो

चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्कियो

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो ।

वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । स्थानीयबासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चाँजुमा बल्लतल्ल बनेको पुल पनि निर्माण भएको तीन महिना नपुग्दै भाँचिएपछि उनीहरू आक्रोशित बनेका हुन् । “योभन्दा हद हुने ठाउँ छैन,” स्थानीय बासिन्दा चेतन आंथुपोले भने, “एक त खोलाको बीचमा पुल बन्यो । त्यो पनि एकैचोटिको बाढीले भत्कियो,” सरकारी पक्षको लापरबाहीले गर्दा चुलाचुलीवासीले पुल पाएर पनि गुमाउनु परेको उनको भनाइ छ ।

नवनिर्मित पुल २०४ मिटर लम्बाइको थियो । झोलुङ्गेपुल महाशाखा काठमाडौँको ७० लाखको लागतमा पुल निर्माण भएको पुल रेखदेख समितिका अध्यक्ष राजेन्द्र केरुङले बताए । तीन फिटमात्र गाडिएकाले पुलको पूर्वपट्टिको एउटा पिल्लर भासिएको छ । “ठेकेदारलाई पिल्लर गहिर्याएर गाड्नुभन्दा तीन फिटभन्दा लैजान नमानेकाले अहिले पुलको यो अवस्था भयो,” उनले भने ।
“स्टिमेट नै गलत थियो । त्यत्रो खोला देख्दादेख्दै कसरी बीचमा पुल बनाइयो ?”, पूर्वगाविस अध्यक्ष ओमनारायण खनालले भने । पुलका बारेमा आगामी गाउँसभामा छलफल चलाउने अध्यक्ष प्रदीपचन्द्र राईले बताए । चुलाचुली गाउँपालिका–३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म आउन उक्त पुल तर्नुपर्छ । ती वडाबाट गाउँपालिकाको एक मात्र जनता मावि पढ्ने विद्यार्थीलाई पनि पुल जरुरी छ । खोला तर्न नसकेर प्रत्येक बर्खामा दुई महिना जति विद्यार्थीको पढाइ अवरुद्धसमेत हुँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्