हलेसी प्रवेशमा शुल्क नलिन नगरको निर्देशन

हलेसी प्रवेशमा शुल्क नलिन नगरको निर्देशन

खोटाङ,  साउन १९ गते । हलेसी तुवाचुङ नगरपालिकाले खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी प्रवेशमा शुल्क नलिन निर्देशन दिएको छ ।

यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै शुल्क नलिन निर्देशन दिएको हो ।

नगरपालिकाले दिएको निर्देशनलगत्तै शुल्क लिन छाडिएको विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताउनुभयो । “दर्शनार्थीको भीडलाई व्यवस्थापन गर्न सामान्य शुल्क लिने व्यवस्था गरिएको थियो ।” उहाँले भन्नुभयो, “नगरपालिकाको निर्देशनपछि तत्कालै शुल्क लिन छाडिएको छ ।”

हलेसीबाट सीमित व्यक्तिले फाइदा उठाइरहेकाले तत्काललाई शुल्क नलिन निर्देशन दिइएको नगरपालिकाका प्रमुख ईवन राईले बताउनुभयो । “हलेसीको समग्र विकासका लागि हामीले पहल थालेका छौँ ।” उहाँले भन्नुभयो, “व्यवस्थित नभएसम्मका लागि सबै किसिमको शुल्क नलिन निर्देशन दिइएको हो ।”

मन्दिर व्यवस्थापन समिति र विकास समितिले यसअघि महादेवथानमा अघोषितरुपमा मोटो रकम र बसाहाथानमा घोषितरुपमै प्रतिव्यक्ति रु १० लिने गरेको थियो । यससँगै हलेसीका स्थानीयले यसअघि त्यहाँ आउने भक्तजन तथा पर्यटकबाट विभिन्न बहानामा चर्को शुल्क लिने गरेको गुनासो आउने गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्