बाढीबाट सप्तरीमा एक लाख व्यक्ति प्रभावित

बाढीबाट सप्तरीमा एक लाख व्यक्ति प्रभावित

राजविराज, भदौ २ गते । सप्तरीमा एक हप्ता अगाडि अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले झन्डै २० हजार घरका एक लाख व्यक्ति प्रभावित भएका छन् ।

बाढीबाट चार हजार व्यक्ति विस्थापित भएका छन् । बाढीबाट जिल्लाका रम्पुरा मल्हनिया, सकरपुरा बनरझुलालगायत टोल पूर्ण रूपमा डुबानमा परेका छन् ।
वर्षापछि खाँडो खोलामा आएको बाढीले रम्पुरा मल्हनिया गाविसका करिब एक हजार घर तथा सकरपुराका ८९९ घर पूर्ण रूपमा डुबानमा परेको स्थानीयवासी चन्दन यादवले बताउनुभयो । वर्षाले गर्दा प्रत्येक व्यक्तिका घरमा पानी पसेपछि बाढीपीडित घरनजिकैको बाँध तथा विद्यालयको आश्रय लिई रात बिताउँदैछन् । उनीहरू अहिले पनि भोकभोकै जाग्राम बस्न बाध्य भएको यादवले गुनासो गर्नुभयो ।
बाढीले घरघरमा करिब ५ फिटसम्म पानी पसेको तर हालसम्म कुनै पानीको निकास हुन नसकेको रम्पुरा मल्हनियाका सोसिन्द्र यादवले जानकारी दिनुभयो ।
स्थानीय राजेन्द्र देवकी आधारभूत विद्यालय कोइलाडी विद्यालयमा आश्रय लिँदै आएका झन्डै दुई सय परिवारलाई राहत नआएको पीडितले गुनासो गरेका छन् ।
वर्षाका कारणले विष्णुपुर गाउँपालिका–४ बेल्हाका सयौंँ घरपरिवार बिचल्लीमा परेका छन् । पश्चिम र दक्षिणतर्फबाट मुतनी नदी, पूर्वबाट घोरदह र उत्तरबाट खिरखौका नदीको बाढीले गर्दा झन्डै ५० परिवार डुबानमा पर्नाका साथै चारैतिर नदीले कटान गरेकाले सो टोलबाट बाहिर निस्किन र आवतजावत गर्न समस्या भइरहेको बताइएको छ ।
शुक्रबारदेखिको लगातारको वर्षा र बाढीका कारण विभिन्न ग्रामीण तथा शहरी भेगका सडकसमेत अवरुद्ध हुँदा हजारौँ सर्वसाधारणले सास्ती खेप्नुपरिरहेको पीडितको भनाइ छ ।
सङ्कटग्रस्त क्षेत्र घोषणाको माग
जिल्ला दैवीप्रकोप उद्धार समिति सप्तरीको बैठकले बाढीबाट ठूलो क्षति भएकाले जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ । प्रजिअ एवं समितिका अध्यक्ष भागिरथ पाण्डेयको अध्यक्षतामा बुधबार साँझ बसेको बैठकले बाढीले जिल्लामा अत्यधिक क्षति पु¥याएको र उद्धार तथा राहत वितरणमा समेत समस्या परेकाले जिल्लालाई सङ्कटग्रस्त घोषणा गर्न माग गरेको हो ।
विश्व खाद्य कार्यक्रमलगायत सहयोगी संस्थालाई सहयोगका लागि आह्वान गर्दै बैठकले बाढी प्रभावित क्षेत्रमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिले वितरण गर्ने राहतलाई व्यवस्थित गर्न आग्रह गरेको छ । राहत वितरण गर्न आउने व्यक्ति र सङ्घसंस्थालाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सम्पर्क गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्