पत्रकार महासङ्घको २५औँ महाधिवेशन आजदेखि सुरु

पत्रकार महासङ्घको २५औँ महाधिवेशन आजदेखि सुरु

काठमाडौँ,  भदौ ४ गते । नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशन आइतबार काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिन देशभरका पार्षद् तथा अन्य पत्रकार काठमाडौंँमा भेला भएका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आइतबार बिहान सुरु हुने महासङ्घको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने महासङ्घले जनाएको छ । महाधिवेशनले महासङ्घको आगामी तीन वर्षका लागि ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।
व्यावसायिक पत्रकारहरूको संस्था महासङ्घको नयाँ कार्यसमितिको नेतृत्वका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर लगायतका पत्रकारसम्बद्ध सङ्गठन क्रियाशील रहेका छन् । ती तीनै संस्था भने मुलुकका मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शुभेच्छुक हुन् ।
महासङ्घमा सबैभन्दा बढी पार्षद् भएको दाबी गर्ने प्रेस चौतारी नेपालले पत्रकार तीर्थ कोइरालाको नेतृत्वमा साना दलका पत्रकार सङ्गठनसँग गठबन्धन गरेर प्यानलसहित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतारेको जनाएको छ । नेपाल प्रेस युनियन र प्रेस सेन्टरले साझा उम्मेदवारका रूपमा गोविन्द आचार्य नेतृत्वको समूहलाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् । दुवै सङ्गठनसँग चौतारीभन्दा बढी पार्षद् रहेको दाबी गरिएको छ । महासङ्घमा एक हजार ५१६ जना पार्षद प्रतिनिधिले मतदान गर्नेछन् ।
महाधिवेशनमा भाग लिन आएका पत्रकारलाई महासङ्घले भोजन र आवासको व्यवस्था मिलाएको छ । उम्मेदवारलाई मत माग्न र प्रचारप्रसार गर्न सहज होस् भन्ने उद्देश्यले पनि पार्षदहरूलाई राजधानीको सुन्धारास्थित लजहरूमा आवासको व्यवस्था गरिएको नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरले बताउनुभयो ।

महासङ्घले प्राध्यापक चिरञ्जीवी खनालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । संयोजक खनालका अनुसार आइतबार दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता, अपराह्न ३ः४५ बजे उम्मेदवारको नामावली प्रकाशन, दिउँसो ३ः४५ देखि ४ः४५ सम्म उम्मेदवारविरुद्धको दाबी विरोध लगायतका कार्यक्रमसँगै साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको छ ।
त्यस्तै सोमबार भदौ ५ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तय गरिएको संयोजक खनालले जानकारी दिनुभयो ।
मतदान प्रक्रिया कमलादीस्थित प्रज्ञा भवनमै हुने भए पनि मतगणना भने तिलगङ्गास्थित पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरिने महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले बताउनुभयो । मतदान प्रक्रिया सकिएलगत्तै सोमबार साँझदेखि नै मतगणनाको काम अगाडि बढाइनेछ ।
महासङ्घको हरेक तीन वर्षमा महाधिवेशन हुने गरेको छ । महासङ्घको ४७ सदस्यीय नयाँ कार्यसमितिमध्ये अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, सचिव छ, कोषाध्यक्ष गरी ११ पदाधिकारी, भौगोलिक र गैरभौगोलिक प्रत्येक प्रदेशबाट ३६ जना सदस्य निर्वाचित हुने विधानमा व्यवस्था छ ।
श्रमजीवी पत्रकारको हकहित र नेपाली मिडियाको प्रवद्र्धनका लागि साझा रूपमा आवाज उठाउँदै आएको महासङ्घमा नेतृत्वका लागि ठूलो प्रतिस्पर्धा हुने गरेको छ । पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षा र क्षमता अभिवृद्धिका लागि महाधिवेशनका बेला उम्मेदवारले ठूल्ठूला नारा दिने गरे पनि निर्वाचित भएपछि त्यसको कार्यान्वयनमा खासै ध्यान नदिने गरेको श्रमजीवी पत्रकारको गुनासो रहँदै आएको छ ।
यस २५औँ महाधिवेशनमा होमिएका पत्रकार तथा उम्मेदवारले लिखित कार्यसूची भने अगाडि सारिसकेका छैनन् । उनीहरूले पत्रकारहरूमाझ व्यावसायिक पत्रकारिताको प्रवद्र्धन र श्रमजीवी पत्रकारको हकहितमै प्रचारप्रसारलाई अगाडि बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्