राजविराज । एक साता अगाडि विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १५ रमपुरा मल्हनीयाको डलबास्थित कोशी पलारमा पशु चौपाया धमाधम मर्न थालेका छन् ।
दूध र दहीका लागि प्रख्यात सो क्षेत्रमा बाढीसँगै पशु चौपायामा विभिन्न रोगका प्रकोप देखा परेपछि त्यहाँका सयौं पशु चौपाया मरेको स्थानीयवासी चन्दन यादवले जनाकारी दिए । लगातारको वर्षापछि आएको बाढीले कोशी नदीको छेउमै रहेका बासिन्दा डुबानमा परेपछि पशु चौपाया लिएर एक सातादेखि सो कोशी बाँधमा बस्दै आएका छन् । बाढीबाट पीडा झेलिरहेका उनीहरु अहिले पशु चौपाया एक्कासि मर्न थालेपछि झन् चिन्तित बनेका छन् ।
स्थानीयवासी राजेन्द्र यादवका १५ गाई, बाच्छाबाच्छीसहित चन्दन यादव, सुरज यादव, कारी यादव, फकलेश्वर यादव, रामनाथ यादव, महादेव यादव, बालेश्वर यादवलगायतका पशुचौपाया मरेको बताइएको छ । चौपाया मरेपछि लाखौँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
लगातारको वर्षापछि पशु चौपाया लिएर एक सातादेखि बाँधमा बस्दा चौपायाका केही खानेकुरा घरमै छुटेको र केही बगाएपछि खाना नपाएर कतिपय पशु चौपाया मरिसकेका छन् भने कतिपय मर्ने अवस्थामा रहेको स्थानीयवासी किसान बताउँछन् ।
खाँडो नदीमा आएको बाढीका कारण जिल्लाका दक्षिण भेगका रम्पुरा मल्हनिया, सकरपुरा, लौनिया, तिलाठी, हनुमाननगर, इनर्वा, कोइलाडीसहितका गाविसका दर्जनौं पशु चौपाया अहिले पनि खाना नपाएर मर्ने अवस्थामा रहेको बताइएको छ । पशु चौपाया मरे पनि अहिलेसम्म आवश्यक औषधि तथा अन्य कुनै सेवा सुविधा सरकार तथा पशुसेवा कार्यालय एवं सम्बन्धित निकायबाट नपाएको कृषकको गुनासो छ ।
सो क्षेत्रमा चौपाया मरेपछि महामारी फैलिनसक्ने सम्भावनासमेत बढेको छ । बाढीग्रस्त क्षेत्रमा अहिले पानी सुक्दै गएको अवस्थामा घाम लागेसँगै मरेका चौपाया गनाउन थालेपछि स्थानीयवासी त्रसित छन् । साथै बाँधका चारैतिर पानी नै पानी भएकाले कतै बाहिर जान नसकेका कारण त्यहाँ बस्ने मानिसमा महामारी फैलिने सम्भावना देखिएको बताइएको छ । रासस