देशभर डेढ करोडले चलाउँछन् इण्टरनेट

देशभर डेढ करोडले चलाउँछन् इण्टरनेट

विश्वास रेग्मी, काठमाडौँ, भदौ १६ गते । दूरसञ्चारको पहुँच व्यापक विस्तार भइरहँदा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि त्यसैअनुसार बढ्दै गएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार देशभर एक करोड ५५ लाख ५६ हजारले इण्टरनेट प्रयोग गरिरहेका छन् । यो कुल जनसङ्ख्याको ५८.७२ प्रतिशत हो ।

दुरसञ्चार सेवा प्रदायकबीच मोबाइल इण्टरनेटको पहुँच विस्तारमा भएको प्रतिस्पर्धाले इण्टरनेट प्रयोग गर्नेको सङ्ख्यामा व्यापक वृद्धि आएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार कुल इण्टरनेट प्रयोगकर्तामध्ये एक करोड ४९ लाख ३० हजारले मोबाइलबाटै इण्टरनेट प्रयोग गर्छन् । यसमध्ये ८० लाख १३ हजारले नेपाल टेलिकमको इण्टरनेट प्रयोग गर्छन् । एनसेलका मोबाइल इण्टरनेट प्रयोगकर्ता ६७ लाख ८३ हजार पुगेका छन् । त्यस्तै एक लाख ३४ हजारले स्मार्ट टेलिकमले उपलब्ध गराएको मोबाइल इण्टरनेट प्रयोग गरिरहेको प्राधिकरणको तथ्याङ्क छ ।
नेपालमा अहिले सेवा प्रदायकले मोबाइलबाहेक डायल अप, वायरलेस, अप्टिकल फाइबर, एडीएसएल, सीडीएमए, इभीडीओ, वाइम्याक्स र भीस्याटमार्फत पनि इण्टरनेट उपलब्ध गराइरहेका छन् । पुरानो प्रविधिको डायलअपका प्रयोगकर्ता पाँच हजार हाराहारी छन् । निजी इण्टरेट सेवा प्रदायकले उपलब्ध गराइरहेको वायरलेस इण्टरनेट प्रयोग गर्नेको सङ्ख्या करिब ५६ हजार पुगेको छ । केवल मोडर र अप्टिकल फाइबरबाट एक लाख ७० हजारले इण्टरनेट सेवा लिइरहेका छन् । यस्तो सेवा पनि निजी इण्टरनेट सेवा प्रदायकले मात्रै उपलब्ध गराएका छन् । अप्टिकल फाइबर इण्टरनेट तुलनात्मक रूपमा गुणस्तरीय मानिन्छ । त्यस्तै नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ल्याण्डलाइनमा आधारित एडीएसएल प्रयोगकर्ता एक लाख ७८ हजार पुगेका छन् । टेलिकमले यही असारदेखि एडीएसएललाई इण्टरनेटमा आधारित प्रविधिमा रुपान्तरण गरिसकेको छ । सीडीएमए र इभीडीओका संयुक्त प्रयोगकर्ता एक लाख ३६ हजार रहेका छन् । चौथो पुस्ताको इण्टरनेट मानिने वाइम्याक्स प्रयोगकर्ता १६ हजारमाथि छन् । विकट क्षेत्रमा दुरसञ्चार सेवाको लागि प्रयोग गरिने भीस्याट प्रविधिमार्फत इण्टरनेट प्रयोग गर्ने १३ जना रहेको प्राधिकरणको तथ्याङ्क छ ।

सरकारले सन् २०२० सम्म नेपालभर ब्रोडब्याण्ड इण्टरनेट पु¥याउने लक्ष्यसहित अप्टिकल फाइबर बिछ्याउने प्रक्रिया पनि अघि बढाएको छ । यसैअन्तर्गत सङ्घीय संरचना अनुसारका विभिन्न प्रदेशमा ग्रामीण दुरसञ्चार विकास कोष(आरटीडीएफ)मा सङ्कलन रहेको रकम प्रयोग गरी अप्किटकल फाइबर बिछ्याउने तथा नेटवर्क विस्तार गर्ने कामका लागि सेवा प्रदायकसमेत छनोट गरिसकेको छ । त्यस्तै विभिन्न जिल्लामा दुरसञ्चार पूर्वाधार विकासका लागि पनि आवेदन माग गरिएको अवस्था छ । गत पुषदेखि नेपालमै पहिलोपटक विश्वभर प्रचलित रहेको फोरजी इण्टरनेट पनि सुरु भइसकेको छ । नेपाल टेलिकम र एनसेलले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि यो सेवा उपलब्ध गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्