चितवनमा ३०९ जनामा स्वाइनफ्लु संक्रमण

चितवनमा ३०९ जनामा स्वाइनफ्लु संक्रमण

चितवन । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो ।

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा उपचार भएका कूल ३८० जना बिरामीको परीक्षण गरिएकामा ३०९ जनामा इन्फ्लुएञ्जा ए एचवान एनवान संक्रमण पुष्टि भएको जानकारी दिए ।
‘जिल्लामा फ्लु ए देखिएपछि ३८० जनाको नमूना थप परीक्षणका लागि काठमाडौँमा पठाइएको थियो, केसीले भने, “उक्त परीक्षणले ३०९ जनामा संक्रमण पुष्टि गरेको हो ।” संक्रमण भएकामध्ये २५३ जना चितवनका बासिन्दा हुन् ।

बाँकी ५६ जना भने बाहिरी जिल्ला तनहुँ, धादिङ, नवलपरासीलगायतबाट चितवनमा आई उपचार गरिएका बिरामी छन् ।

स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुने भएकाले चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भरतपुर अस्पतालका डा. कालिदास अधिकारी बताउँछन् । उनले फ्लु ए संक्रमण भएका बिरामीको चाप अस्पतालमा अत्यधिक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्