बर्दिबासमा ९८ जनामा डेंगु रोग भेटियो

बर्दिबासमा ९८ जनामा डेंगु रोग भेटियो

गौशाला, असोज  २५ ।  महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ । उक्त कुरा जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिनुभएको छ ।अघिल्लो सोमबार बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा पाँचजनामा फेला परेको डेंगु रोग अहिले बर्दिबासका ९८ जनामा देखापरिसकेको अस्पतालले जनाएको छ । ती मध्ये ८० जना महोत्तरीका र अन्य १८ जना सिन्धुली, सर्लाही र धनुषाका रहेका छन् । यसरी दुई साताअघि पाँचजनाबाट शुरु भएको डेंगु रोग १०० जना करिब पुग्न लागेको र महामारीकै रुप लिन लागेको देखेर स्थानीय ज्यादै भयभित एवं त्रसित भएका छन् ।

यसैबीच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि किटको समेत अभाव भएपछि स्थानीयमा थप डर पैदा भएको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलकै गृहनगर बर्दिबासमा यसरी दर्जनौँ व्यक्ति डेंगु रोगको संक्रमणमा परेको र दिनानुदिन डेंगु रोगीको संख्या बढ्दै गएको देखेर सम्पूर्ण जिल्लावासीमै यो त्रास बढ्दै गएको छ ।

यता जिल्ला स्वास्थ्य कार्यालय र बर्दिबास इलाका प्रशासन कार्यालय, बर्दिबास नगरपालिका तथा स्थानीय नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नुका साथै सो रोगको कीटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर गरिँदै आएको जिल्ला स्वास्थ्य कार्यालय, जलेश्वरले जनाएको छ ।

तर अझै पनि बर्दिबासमा डेंगु रोगको संक्रमण नियन्त्रणमा नआएर दिनानुदिन बढ्दै गएको देखेर स्थानीयलगायतका सम्पूर्ण जिल्लावासीमा चिन्ता बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्