प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा आज पेश गर्नुपर्ने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा आज पेश गर्नुपर्ने

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आज उमेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आज उमेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

संविधानसभाबाट जारी नेपालको संविधान अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि पहिलोपटक उमेदवारी दर्ता हुन लागेको हो । निर्वाचन आयोगले बन्दसूची पेश गर्नका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूची पेश गर्नुपर्नेछ । निर्वाचन आयोगले ८८ दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । राजनीतिक दलले उमेदवारको बन्दसूची पेश गर्दा महिलाको संख्या ५० प्रतिशित पु¥याउनुपर्नेछ ।

नेपालको संविधानले संघीय व्यवस्थापिकामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।  कुनै राजनीतिक दलले प्रत्यक्षतर्फबाट एक तिहाई महिला सदस्य सुनिश्चित गर्न नसकेमा  समानुपातिक निर्वाचन प्रणालीबाट  सुनिश्चित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

नेपालको संविधानले संसद्मा महिलाका प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै समानुपातिक र समावेशी सिद्वान्तलाई आत्मसात गरेको छ ।

प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत महिला, दलित, आदिवासी जनजाति, खस आर्य (क्षेत्री, ब्राह्मण, ठकुरी र सन्यासी/दशनामी), मधेशी, थारु, मुस्लिमको समावेशी प्रतिनिधित्वका लागि  तत् समुदायको जनसंख्याका आधारमा उम्मेदवारी प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको नामावली पेश गर्दा भूगोल र प्रादेशिक सन्तुलन  तथा पिछडिएको क्षेत्र र अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले यस प्रणालीबाट निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनुपर्ने र कुल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने कानूनी प्रावधान रहेको छ ।

नेपाल सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभाको  निर्वाचन एकै दिन दुई चरणमा सम्पन्न गर्नेगरी मिति तय गरेको छ ।
यसैबीच प्रमुख दलहरूले उमेदवार छान्न नसकेपछि अहिलेसम्म पनि टुंगो लगाउन सकेका छैनन् । कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलले उमेदवार छान्न सकेका छैनन् ।
कांग्रेसको संसदीय समितिले अबेरसम्म पनि उमेदवारको नाम टुंगो लगाउन सकेको छैन । शनिबार २ पटकसम्म बसेको समितिको बैठकले पनि कांग्रेसमा उमेदवार टुंगो लाग्न नसकेको नेताहरूले जनाएका छन् ।
एमालेले बुझाउनुअघि बस्ने स्थायी कमिटीको बैठकले निर्णय गर्ने बताएको छ । त्यसैगरी माओवादी केन्द्रले पनि उमेदवारको नाम तय गर्न सकेको छैन ।
मधेसवादी दलले अन्तिम अवस्थामा रहेको जानकारी दिएका छन् ।

राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्