निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्न नपाउने

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्न नपाउने

काठमाडौं । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्न नपाउने भएका छन् । निर्वाचनमा कुनै पनि कर्मचारी आफ्नो स्थायी ठेगाना रहेको ठाउँमा खटिन नपाउने तथा मतदाता नामावली रहेको र सोहीअनुसार तोकिएको केन्द्रबाट मतदान गर्नुपर्ने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ ।

निर्वाचनमा करिब २ लाख कर्मचारी र सोही संख्यामा सुरक्षाकर्मी खटिँदैछन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार यसबारे अन्तिम निर्णय हुन बाँकी नै रहे पनि अस्थायी मतदानको व्यवस्था गर्न गाह्रो हुन्छ ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा भने निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गरेका थिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा भने उनीहरु मतदानबाट बञ्चित भएका थिए ।

स्थानीय तहको निर्वाचनमा समानुपातिक व्यवस्था नभएको भए पनि प्रतिनिधिसभा र प्रदेशसभामा संविधानसभामा जस्तै समानुपातिकतर्फ मतदान गर्न पाउनुपर्ने आवाज उठे पनि सुनुवाई भने हुन सकेन ।

भोटिङ मेसिन प्रयोग नहुने

यसैबीच निर्वाचन आयोगले बेला–बेला बहसमा ल्याउँदै आएको इलेक्ट्रोनिक भोटिङ मेसिन आगामी प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा पनि प्रयोग नगर्ने भएको छ ।

संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ मा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको थियो । जसले गर्दा सो क्षेत्रको नतिजासमेत छिट्टै सार्वजनिक भएको थियो ।
तर, अहिले प्रतिनिधिसभा र प्रदेशसभाको एकैपटक निर्वाचन हुने भएकाले यो प्रयोगमा नआउने भएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले यो पटक इलेक्ट्रिोनिक भोटिङ मेसिन प्रयोगको कुनै तयारी नरहेको बताए । “त्यसको लागि छुट्टै तालिम र विभिन्न प्रबन्ध मिलाउनुपर्ने हुन्छ । अहिले हाम्रो कुनै तयारी छैन,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्