लालबाबु पण्डितको आत्मकथा पुस्तकमा आउदै

<span class='c1'>लालबाबु पण्डितको आत्मकथा</span> <span class='c2'>पुस्तकमा आउदै</span>

नेपालयले फेरि एकपटक नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्रलाई आम पाठकमाझ ल्याउने भएको छ । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका ती रोचक राजनीतिज्ञको जीवनीपुस्तक तराइवासीको महानपर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा गरिएको नेपालयले जनाएको छ ।

केहि वर्षअघि मुलुक कठिन राजनीतिक मोडबाट गुज्रिरहेकै बेला एक कमै चिनिएका राजनीतिज्ञ पहिलोपटक मन्त्री बनेका थिए । मन्त्री बनेको छोटै समयमा ब्यापक चर्चा कमाएका उनी थिए लालबाबु पण्डित । एकातिर तीब्र जातीय ध्रुवीकरणका बेला समाजलाई जोड्न खोज्ने सेतु र अर्कातिर ब्यापक भ्रष्टाचार अनि बेथिति नियन्त्रणमा कुर्लिने त्यो ब्यक्तिको अदम्य साहस जताततै चर्चाको विषय बन्न पुग्यो ।

देशहितमा काम गर्न आँट्ने हो भने एउटा मन्त्रीले कतिसम्म अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण बने लालबाबु पण्डित । आम मानिसका दैनिक सरोकारभन्दा अलिक पर कर्मचारीको व्यवस्थापन गर्ने मन्त्रालय सम्हालेका ती ‘नपत्याउँदा मन्त्री’ ले सत्ता र शक्तिमाझ कदापि नतमस्तक नहुने अदम्य साहस देखाए ।

उनमा त्यो संझौताहीन स्वभाव राजनीतिक संघर्षबाट खारिएर तयार भएको रहेछ । नेकपा (एमाले) का लोकप्रिय नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवन सम्मका भोगाइहरु कथाजस्तै भेटिए । अनि ती सबैलाई कुशलताका साथ अघि बढाउन सघाउने उनको सादगीपूर्ण जीवन पनि कम्ती रोचक थिएन ।

यसरी राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका उनै लालबाबुका तिनै रोचक भोगाइहरु आत्मकथाको रुपमा पब्लिकेशन्स नेपालयले प्रकाशन गर्न लागेको हो ।‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसले नेपाली राजनीतिको जटिल समयमा पनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ ।’

पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् ।‘पहिलोपटक मन्त्री हुनेबित्तिकै जताततै विसंगति र विकृति देख्नथालेपछि परिवर्तनको पाइला आफैँबाट चाल्ने अठोट गरेको थिएँ,’ पण्डित भन्छन्, ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारिका साथ पुस्तकमा राखेको छु ।’

समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास पण्डित ब्यक्त गर्छन् ।‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु ।’ “सिंहदरबार बदल्ने सङ्घर्ष” नामाकरण गरिएको यो पुस्तक यसै महिनाभित्र पब्लिकेशन नेपालयले आम पाठकसामू पु¥याउने तयारी गरेको छ । पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ । -बारखरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्